मध्यपहाडी लोकमार्गको बाङ्गेचौर–उपल्लाचौर खण्ड स्तरोन्नति हुँदै

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ बजार खण्डमा स्तरोन्नति गरि कालोपत्र गर्न थालिएको छ । दशक अगाडि निर्माण भएको यस खण्ड मापदण्डभन्दा साँघुरो हुँदा फराकिलो बनाइ कालोपत्र गर्न गर्न थालिएको हो । हाल करिब पाँच मिटर चौडा रहेको उक्त सडकलाई स्तरोन्नति गरि सात मिटर बनाइएको हो ।

तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई यो सडक हस्तान्तरण गरेको थियो । बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि वडा नम्बर ४ को उपल्लाचौरसम्मको दुई किलोमिटर फराकिलो बनाई कालोपत्र गर्न थालेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिका लागि रु ६ करोड ७२ लाख ६५ हजार रुपैयाँमा एच.सी.बि.जि.सी.एस. गोर्खा कम्पनीले जिम्मा पाएको उहाँको भनाइ छ । अहिले निर्माण कम्पनीले कामदार खटाएर धमाधम काम गरि रहेको छामिछानेले बताउनुभयो । यस सडक खण्डलाई सात मिटर चौडाको ‘डबल लेन’ बनाइने उहाँको भनाइ छ । निर्माण कम्पनीले गत फागुन गते सडक स्तरोन्नतिका लागि सम्झौता गरेको र आगामी २०८२ भदौ १५ गतेभित्र कालोपत्र गरि सक्ने छामिछाने बताउनुहुन्छ ।

“यो सडक खण्ड धेरै वर्ष अगाडि कालोपत्र भएको हो, भत्किएर साँघुरिएका थियो, केही समय अगाडि मात्रै लोकमार्गले सडक डिभिजनलाई हस्तान्तरण गरेको थियो,” सूचना अधिकारी लामिछानेले भन्नुभयो – “निर्माण कम्पनीले काम सुरु भएको धेरै भएको छैन, छाटो समयमै १० प्रतिशत काम सकेको छ, अबको छ महिनामा काम सक्नु पर्ने छ ।”

सवारी चालक प्रेमनाथ कँडेलले यो सडक साँघुरो हुँदा दुर्घटनाको उच्च जोखिम भएको बताउनुभयो । पहिलो थोरै सवारी साधान चल्ने उक्त सडकमा अहिले दैनिक जिल्लाको बुर्तिबाङ, गलकोटसहित म्याग्दी, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट लगायतका ठाउँमा पुग्ने यातायात संचालन हुँदा चाप बढेको कँडेलको भनाइ छ । साँघुरो सडकका कारण दोहोर गाडी ओहोरदोहोर गर्न समस्या भएको उहाँले बताउनुभयो । स्तरोन्नतिपछि सहज हुने कँडेल बताउनुहुन्छ । मध्यपहाडी लोकमार्ग बागलुङमा करिब १४० किलोमिटर पर्छ । जसमध्ये हालसम्म बिहुँ खण्डको करिब १२ किलोमिटर बाहेक अन्य सबै खण्ड कालोपत्र भइसकेको छ । बिहुँ खण्डमा पनि अहिले स्तरोन्नतिको काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्