बजार खोज्दै ताराखोलाको रेम्बो ट्राउट माछा

आदर्श सञ्चार, बागलुङ

ताराखोलाको चिसोपनीमा हुर्केका रेम्बो ट्राउट माछा बजारको खोजीमा छ । दुर्गम ठाउँमा ठूलो लगानीमा पालिदै आएको माछालाई बजारको अभाव भएको माछापालक किसान पदम खत्रीले बताउनुभयो ।

१७ किन्टल माछा उत्पादन भएकोमा अहिले सम्म जम्मा ७ क्विन्टल माछा बिक्री भएको खत्रीले बताउनुभयो ।

रेम्बो ट्राउट माछाको उत्पादन लागत बढी भएकाले एक हजार ३०० प्रति केजीमा बिक्री भइरहेको बताउनुभयो । उहाँले भारतबाट आएको सस्तो माछासंग प्रतिस्प्रर्धा गर्न नसकेको गुनासो गर्नुभयो ।
एक हजार क्विन्टल माछा बिक्रीको तयारीमा रहेपनि बजार अभाव भएको उहाँको भनाई छ ।

“माछा उत्पादन धेरै भयो, कजारको माग थोरै छ, बागलुङ बजारमा भारतबाट आएको माछासंग प्रतिस्प्रर्धा गर्न सकिदैन, माछा फर्म गाउँमा नभएर बजार नजिकै हुन आवश्यक रहेछ” खत्रीले भन्नुभयो “दाना ढुवानी गरेर गाउँ लैजाने र गाउँको माछा बजार पु¥याउदा खर्च बढी लाग्यो, अहिले बजारको खोजीमा छौं ।”

२०७५ सालमा ताराखोलामा रेम्बो ट्राउट माछापालन गर्ने उदेश्यले चार जनाको संयुक्त लगानीमा ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरेपनि अहिले खत्रीले माछापालन गर्दै आउनुभएको छ ।

ताराखोला गाउँपालिका–४ छम्टुमा ताराखोलाको चिसो पानीमा हुर्केका माछाको स्वाद राम्रो भएपनि माछार्ला बजारको अभाव भएको हो ।

१२ रोपनी जग्गा खरिद, फर्म व्यवस्थापन र पोखरी लगायतका संरचना सहित ५० लाख लगानीमा स्थापना भएको माछा फर्ममा यस पटक माछा राम्रो उत्पादन भएको खत्रीको भनाई छ ।

खत्रीले दाना ढुवानीमा भने समस्या भएको बताउनुभयो । रेम्बो ट्राउट माछाका लागि पोखराबाट दाना झिकाउदा ढुवानी खर्च बढी लाग्ने गर्दा दुर्गममा माछापालन गर्न असहज भएको सुनाउनुभयो ।

बगिरहेको सङ्लो पानीमा हुर्कने ट्राउट माछा निकै स्वादिष्ट हुने भएपनि माछा उत्पादनमा भने चुनौती रहेको खत्रीले अनुभव सुनाउनु भयो । सानैदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका खत्री अहिले माओवादी केन्द्र ताराखोला गाउँ कमिटिको अध्यक्ष हुनुहुन्छ ।

“द्वन्द्वकालमा विद्यार्थी राजनीतिमा सक्रिय थिए, ताराखोला बागलुङमै माओवादीको आधार इलाका भइसकेको थियो, अहिले गाउँ कमिटिको अध्यक्ष छु” उहाँले भन्नुभयो “उत्पादनमा जोडिएर राजनीति गर्न थालेको छु, पटक–पटक माछापालनमा गरेको लगानी खेर जादा समेत हार मानिन, फर्म स्थापनापछि राम्रो माछा उत्पादन यस पटकनै भएको छ, माछा राम्रो भए तीन पटकमै लगानी उठाउन सकिन्छ, तर माछाको बजार कम रहेछ ।”

१२ रोपनी क्षेत्रफलमा फैलिएको माछा फर्ममा बस्ने व्यवस्था सहितको घरबास सञ्चालन गर्ने योजना रहेको खत्रीको भनाई छ ।

अहिले १८ वटा पोखरीमा रेम्बो ट्राउट माछापालन भइरहेको छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ । बजारमा यसको माग अत्यधिक रहेको छ । ठूला होटल तथा रेष्टुराँको रोजाइमा ट्राउट माछा पर्ने गरेको छ । माछापालन गरेको स्थानमा फार्मस्टेको अवधारण समेत ल्याइएको बताउदै खत्रीले माछा उत्पादन राम्रो हुन थालेपछी लगानी बढाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्