आदर्श सञ्चार, बागलुङ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर शुरु गरेको मेगा परियोजना संचालनमा आउन लागेको बताउनुभएको छ । गत वर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।
मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने वताउदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामग्री प्रकाशन गनुपर्ने धारणा राख्नुभयो ।
ढोरपाटन दैनिकले सोमबार बागलुङ बजारमा आयोजना गरेको २०८२ सालको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा क्यालेण्डर विमोचन गर्दै अध्यक्ष ढकालले युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवस्यक भएको बताउनुभयो । त्यसैका लागि महासंघको अगुवाइमा गतवर्ष १० अर्बको मेगा परियोजना स्थापना गरिएको थियो ।
अध्यक्ष ढकालले पछिल्लो समय सरकारले पनि लगानीमैत्री वातावरणको सुरवात गरेको बताउनुभयो । नेपालमा लगानी गर्न बिदेशी लगानीकर्ता आउन खोजीरहेकोले सरकारले वातावरण बनाउनुपर्ने समेत उनको धारणा थियो । पर्यटन, जलविद्युत र कृषि क्षेत्रको बिकासमा लगानी बढाएमा नेपाल आत्मनिर्भर बन्न सक्ने उहाँको धारणा छ । ढकालले विदेशीहरुले पनि नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताउनुभयो ।
गत वर्ष ढोरपाटन उपत्यकामा सम्पन्न भएको महासंघको तेस्रो कार्यकारीणी बैठकले तय गरेका एजेण्डामा सरकार सहमत भएकोले अबको वर्ष लगानीमैत्री अबस्थाको बाटो खुल्दै जाने समेत बताउनुभयो । महासंघको साधारणसभाले पनि त्यसलाई अनुमोदन गरेको थियो । लगानी गरेका व्यवसायीलाई सम्मान गर्न सकेमा बेरोजगारी पनि हट्ने उहाँको धारणा छ ।
बैंकहरुले व्याज घटाउने, कालोबजारी ऐन खारेजी सहितका एजेण्डाहरु पुरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक संकटको असर नपरोस भन्ने चाहेको महासंघका अध्यक्ष ढकालले बताउनुभयो । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पूँजि अभाव भएमा मेगा परियोजना मार्फत साथ दिने समेत बताउनुभयो ।
महासंघको तर्फबाट आगामी कार्यक्रम बारे सरकारको ध्यानाकर्षण पनि गराइएको उनले जानकारी दिनुभयो । ढोरपाटन दैनिकका प्रधानसम्पादक हरिनारायण गौतमले गण्डकी प्रदेशका सम्भावनालाई उजागर गर्न यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई समावेश गरेर क्यालेण्डर तयार गरिएको बताउनुभयो । उहाँले गण्डकीको आर्थिक सामाजिक र सांस्कृति पक्षलाई थप मजवुद बनाउन सहयोग गर्ने उदेश्यले ढोरपाटन दैनिक गण्डकीको प्रदेश राजधानी पोखराबाट प्रकाशन थालेको बताउनुभयो ।
सो कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बागलुङको मात्रै नभई प्रदेशका व्यवसायीको मनोवल उचो बनाउन ढोरपाटन दैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफु निर्वाचित भएपछि व्यवसायीलाई कृषिमा लगानी गर्न प्राथमिकतामा राखेको र मानव स्वास्थ्यलाई पनि संगै जोडेर अगाडि बढाउन थालेको बताउनुभयो ।
सो अवसरमा उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्का, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष देवप्रकाश घिमिरे, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, त्रिवि प्रगतिशील कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष भूपाल चालिसे, नेकपा माओवादी केन्द्र बागलुङका अध्यक्ष राजिब घिमिरे, एमाले केन्द्रीय सल्लाहकार नवराज पौडेल, जिल्ला उपसचिव धनबहादुर परियार, प्रदेश सदस्य लालबहादुर थापा, नेकपा एसका जिल्ला सचिव शालिकराम शर्मा, युवा व्यवसायी सुमन बोहरा, सुदिप शर्मा, पत्रकार प्रकाश बराल, रन्जिता शर्मा, संगिता रेग्मी, धनमाया पाँण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ढोरपाटन दैनिकले विगत पाँच वर्षदेखि प्रदेश भित्रका पर्यटकीय क्षेत्रलाई समावेश गरेर नियमित रुपमा भित्तेपात्रो प्रकाशन गर्दै आईरहेको पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण वोहराले जानकारी दिए । संघियताको कार्यान्वयन सँगै पत्रिकाले गण्डकी प्रदेश स्तरीय बनाएर नियमित प्रकाशत गर्नुको साथै बिकासको क्षेत्रमा नियमित विशेषांक समेत प्रकाशित गर्दै आएको छ । ढोरपाटन दैनिक ‘क’ वर्गको दैनिक पत्रिका हो ।