बागलुङका एक लाख ३४ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बीमाका पहुँचमा पुगेका छन् । वि.सं. २०७३ असारमा सुरु भएको स्वास्थ्य बीमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका हुन् । बागलुङमा दुई लाख ४९ हजार २११ जनसंख्या रहेको छ । बीमा कार्यक्रम सुरु भएको आठ वर्षमा अपेक्षा अनुसार लक्षित समुदायमा पहुँच कम पुगेको पाइन्छ ।

बागलुङको १० वटै पालिकामा कुल ६४ हजार १५३ परिवार रहेकोमा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो । हालसम्म ६७.६३ प्रतिशत घर परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।

निसीखोला गाउँपालिकामा १७ हजार २१४ जना, ढोरपाटन नगरपालिका १० हजार १८६ जना, तमानखोला गाउँपालिकामा दुई हजार ३११ जना, बडिगाड गाउँपालिकामा १२ हजार २३९ जना, गलकोट नगरपालिकामा १५ हजार ५८४ जना, ताराखोला गाउँपालिकामा दुई हजार ५७२ जना, काठेखोला गाउँपालिकामा १४ हजार ७६६ जना, बागलुङ नगरपालिका मा४१ हजार १२ जना, जैमिनी नगरपालिकामा १५ हजार ३२५ जना र बरेङ गाउँपालिकामा तीन हजार ४६४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बीमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो – “बागलुङमा स्वास्थ्य बीमा पाइलट प्रोजेक्टका रुपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ, जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि प्रत्येक वडामा कर्माचारी खटाएका छौँ, बिस्तारै बीमा गरेको संख्या बढ्दै गएको छ, रहेक वर्ष संख्या बढेको छ ।”

निसीखोला गाउँपालिका–५ का प्रेमबहादुर पुनले दुर दराजमा स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नु भयो । स्वास्थ्य बीमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । आफूले दुई वर्ष अगाडि स्वास्थ्य बीमा गरे पनि सामान्य उपचारका लागि बुर्तिबाङ जानु पर्ने हुँदा अहिलेसम्म एक पटक पनि सेवा नलिएको सुनाउनुभयो ।

“ज्वरो आयो भने स्वास्थ्य बीमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच÷सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधी लिएर खान्छु” पुनले भन्नुभयो – “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको सुविधा दिनु पर्ने हो, हामीहरु त स्वास्थ्य बीमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”

यो पनि पढ्नुहोस्