डम्मर बुढा मगर, बागलुङ
धार्मिक पर्यटकलाई आकर्षित गर्न सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण थालिएको छ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित प्रसिद्ध धार्मिक स्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण सुरु गरिएको हो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटमा खाल्टादेखि सत्यवति मन्दिरसम्म रेलिङसहितको २०० मिटर पक्की पदर्माग निर्माण थालिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङ पदमार्ग निर्माण भइरहेको छ । अघिल्लो वर्ष पनि रु १० लाख लागतमा करिब दुई सय मिटर पदमार्ग निर्माण गरि सकेको योजना अधिकृत नारायण रिजालले जानकारी दिनुभयो । मन्दिरसम्म पुग्ने पदमार्ग निर्माणका पछिल्लो दुई वर्षमा रु २० लाख लगानी भएको उहाँको भनाइ छ । रेलिङसहितको पक्की पदमार्ग निर्माण बढी खर्चिलो हुने उहाँको भनाइ छ ।
यस वर्ष पदमार्ग निर्माणका लागि सम्झौता फागुन ११ गते उपभोक्ता समितिमार्फत सम्झौता गरि काम अगाडि बढेको भन्दै हालसम्म ५० प्रतिशत बढी काम सकिएको रिजालले जानकारी दिनुभयो । उक्त आयोजना यही महिना भित्र सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भइरहेको उहाँको भनाइ छ । चिच्याएर वर माग्ने यस मन्दिरमा पछिल्लो समय आन्तरिक पर्यटको आगमनमा वृद्धि भएको छ ।
१० वर्ष पहिलेसम्म जीर्ण र अव्यवस्थित मन्दिरलाई बरेङ गाउँपालिकाले व्यवस्थित बनाएको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाले मन्दिरको पुनःनिर्माण, पार्किङ स्थल निर्माण, खानेपानी, शौचालय, विश्राम स्थल, फनपार्क लगायतका पूर्वधार निर्माण गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सत्यवती क्षेत्रमा धार्मिक पर्यटक भित्राउनका लागि पूर्वधार निर्माणमा हालसम्म रु एक करोड बढी लगानी गरि रहेको अध्यक्ष शर्माको भनाइ छ । मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको उहाँले बताउनुभयो ।
अध्यक्ष शर्माले भन्नुभयो – “यो मन्दिरमा हरेक धान्य पूर्णिममामा ठूलो मेला लाग्ने गर्छ, प्रत्येक महिना हजारौँ दर्शनार्थी मन्दिरमा आउने हुँदा सडक, खानेपानी, मन्दिर निर्माण गर्ने र अन्य व्यवस्थापनलाई व्यवस्थित बनाइरहेका छौँ, पहिले मन्दिर भएको ठाउँ निकै साँघुरो हुँदा भक्तजनलाई पूजाआजा गर्न समस्या थियो, अहिले त्यसलाई फराकिलो बनाएका छौँ ।”