२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

खेमराज गौतम, बागलुङ

सडकको ट्रयाक खोलेको २० वर्ष पछि काठेखोला गाउँपालिकाको अछेते–भिमापोखरा पुग्ने सडक स्तरोन्नती गरिएको छ । रु. डेढ करोड लागतमा उक्त सडक स्तरोन्नति गरिएको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको अछेते बजार देखि काठेखोला गाउँपालिका–२ भिमापोखरा वडाकार्यालय पुग्ने सडकको स्तरोन्नति गरिएको छ ।

उक्त सडकको ५ किमि मध्ये ८ वटा घुम्ती ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथाम र चौडा पारेर यात्रालाई सहज बनाइएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

उक्त सडकमा चालु आर्थिक वर्षमा दुई वडा ठेक्का मार्फत सडक स्तरोन्नति गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

उहाँले काठेखोला गाउँपालिकाको र. ५० लाख र भिमापोखरा वडा कार्यालयको रु. २० लाख गरी रु. ७० लाखको लागतमा सडकको उकालो र घुम्ती ढलान गरेर यात्रालाई सहज बनाइएको बताउनुभयो ।

अछेते देखि भिमापोखरा सम्मका समस्याग्रस्त स्थान, घुम्ती तथा उकालो सबै सडक ढलान गरेर सहज बनाइएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले जानकारी दिनुभयो ।

शर्माले वडा कार्यालयले समेत साझेदारीमा रु. २० लाख खर्चेको बताउदै अफ्ठारो ठाउँलाई पक्की बनाउनदा सडक सहज भएको जानकारी दिनुभयो ।

शर्माले ३०० मिटर सडक ढलान सम्पन्न भएको बताउदै पूर्वाधार विकास कार्यालयको थप रु.८० लाख बजेटले २०० मिटर सडक ढलान तथा पहिरो चार ठाउँमा पहिरो रोकथामको काम गरिने बताउनुभयो ।

“कम्तिमा वर्खाको समयमा यात्रुलाई सहज बनाउने हाम्रो उदेश्य थियो, डेढ करोड बजेटले अफ्ठारो सडकलाई सहज बनाइएको छ, पुरै सडक पक्की बनाउन त करोडौ बजेट लाग्ने छ, तर अहिलेलाई गाडी अफ्ठारो पर्ने सबै ठाउँमा ढलान गरिएको छ” वडा अध्यक्ष शर्माले भन्नुभयो “बागलुङ बजारदेखि मुलपानी हुँदै भिमापोखरा सम्म आउने वल्ड बैंकको अनुदानमा बागलुङ नगरपालिकाले सडक स्तरोन्नति गर्दा भिमापोखरा हुँदै धम्जा सम्मको यात्रालाई सहज हुनेछ ।”

यस्तै पूर्वाधार विकास कार्यालय अन्र्तगत रु. ८० लाखमा ठेक्कामा मार्फत अहिले थप स्तरोन्नतिको काम मध्यदेउराली कन्ट्रक्सनले गरिरहेको छ ।

उक्त ठेक्का मार्फत पहिरो रोकथामका लागि ग्याबिन जाली, सडक ढलान तथा सडक चौडा पार्ने काम गरिने निर्माण व्यवसायी सुर्य भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले केन्द्रिय सरकार समक्ष सडक स्तरोन्नतिका लागि डिपिआर बनाएर पेश गरेको बताउनुभयो ।

“मेरो कार्यकाल सम्म गाउँपालिकाका ८ अटै वडामा स्तरीय सडक पु¥याउने लक्ष्य रहेको छ, रेशमा कालोपत्र सडक पुग्दै छ, तंग्राममा स्तरीय सडक पुगिसक्यो, भिमापोखरा, लेखानी र धम्जामा सडक स्तरोन्नतिको कार्य भइरहेको छ” थापाले भन्नुभयो “सडकको विकास नै मुख्य विकास हो, सडक स्तरोन्नति भएपछि गाउँमा अन्य विकासमा सहज पुग्ने छ भने बागलुङ बजार आउन र राष्ट्रिय राजमार्गसंग जोडिन सहज हुनेछ ।”

 

 

यो पनि पढ्नुहोस्