डेंगुको जोखिम पछि बागलुङमा सर्तकता

आदर्श अनलाइन
बागलुङ
गण्डकी प्रदेशको राजधानी पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको केही दिनमै बागलुङ र पर्वतका पाँच जनामा डेंगु देखिएको छ ।
बागलुङका तिन जनामा डेंगु भएको फेला परेको छ । जस मध्ये दुई जना जिल्ला बाहिरै छन् भने एक जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । ‘जिल्लाका दुई जनामा बाहिरै डेंगु भेटिएको पाइयो, एक जनाको जिल्लामै पहिचान भएको छ,’ उहाँले भन्नुभयो, ‘डेंगुको जोखिम बढेपछि हामीले सचेतनामूलक ¥याली र सरसफाई पनि गरिरहेका छौ ।’
सर्तक रहन बजारमा माइकिङ
डेंगुको संक्रमण भेटिए पछि बागलुङ सदरमुकाम सहित पर्वत र म्याग्दीमा समेत सर्तकता अपनाइएको छ । ‘डेंगु बिभिन्न शहरमा प्रकोपका रुपमा फैलिएको र जिल्लाका नागरिकमा पनि संक्रमण भएकाले हामीलाई झस्काएको छ,’ सुपरभाइजर घिमिरेले भन्नुभयो,‘निजामति सेवा दिवसको अवसर पारेर सचेतनासँगै बजार सरसफाई र सञ्चार माध्यमबाट सूचना सन्देश प्रसारणका साथै बजारमा पनि माइकिङ गरेर सर्तकता अपनाउन आग्रह गरेका छौं ।’
धौलागिरी अस्पतालमै जाँच
डेंगु भए नभएको परिक्षण गर्ने व्यवस्था धौलागिरी अञ्चल अस्पतालमै गरिएको छ । यसअघि जिल्लामा डेंगु परिक्षणको व्यवस्था थिएन । मंगलबारदेखि अस्पतालमै डेंगू किट मेसिन राखिएको छ । अब कुनै पनि नागरिकलाई शंकास्पद देखिए तत्काल जाँच गर्न सकिने घिमिरले बताउनुभयो ।
कसरी सर्छ डेंगु
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फुल पार्छ । अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भए पनि एडिस प्रजातिको लामखुट्टेले ३÷४ दिनदेखि जमेको पानीमा मात्र फुल पार्ने गर्छ । यहि एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ । वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुन्छ ।
के हो लक्षण
एडिस एजेप्टाई र एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको तीन देखि १४ दिनमा डेंगूको लक्षण देखिन्छ । लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ । दुई÷तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै आँखाको पछाडिपट्टीको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिन्छ । यस्ता लक्षण देखा पर्ने बित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन् । यसलाई वेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गई शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्न थाल्ने, दिशा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने, शरीरमा रगतको कमी हुने, मृगौला तथा मुटुमा समस्या देखिने गर्छ । यस्तो अवस्था देखिएपछि उपचारमा बेवास्ता गरियो भने शरीरका अंगहरूले काम गर्नै छाड्ने समस्या पनि हुन सक्छ ।
यसरी बच्न सकिन्छ डेंगुबाट
डेंगुको लक्षण देखिनासाथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

यो पनि पढ्नुहोस्