‘आलु जोन’ धम्जामा भण्डारण गृह निर्माण

खेमराज गौतम
बागलुङ

‘आलुु जोन’ को रुपमा परिचय बनाउदै गरेको जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा भण्डारण गृह निर्माण गरिएको छ ।
सिजनमा उत्पादित आलु भण्डारण गरी वेमौसममा बिक्री गर्नका लागि सहकारीको अगुवाईमा आलु चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरिएको हो ।
धम्जामा क्रियाशिल हिमचुली कृषि सहकारी संस्था लिमिटेडको अगुवाईमा २७ लाख रुपैयाँको लागतमा आलु चिस्यान केन्द्र निर्माण गरिएको हो । आलुको पकेट क्षेत्रका रुपमा चिनिने धम्जामा आलु भण्डारणको अभावका कारण सस्तो मुल्यमा आलु बिक्री गर्दा आलु किसान मर्कामा परेकाले आलु चिस्यान केन्द्रको निर्माण गरिएको सहकारी संस्थाले जनाएको छ ।

धम्जामा मुख्य बालीका रुपमा आलु खेती गरिन्छ । चिसो स्थानमा उत्पादन भएका आलु निकै स्वादिष्ट भएका कारण यहाँको आलुले राम्रो बजार लिदै आएको छ । एकै पटक उत्पादन हुने आलु बारीबाटै बिक्रि गर्दा किसानले भने जस्तो मुल्य नपाउने समस्यालाई मध्यनजर गर्दै आलु चिस्यान केन्द्र निर्माण गरिएको सहकारी संस्थाका सचिव गोपाल श्रीसले बताउनुभयो । ‘आलु कृषकले उत्पादन गरेको आलु व्यवस्थित तरिकाले भण्डारण गर्न नसक्दा सस्तो मुल्यमा आलु बिक्री हुँदै आएको थियो,’ श्रीसले भन्नुभयो, ‘आलु चिस्यान केन्द्रमा भण्डारण पश्चात आलुलाई दोब्बर बढी मुल्यमा विक्रि गर्न सकिनेछ ।’ गण्डकी प्रदेश सरकारको रु.१४ लाख ३० हजार, काठेखोला गाउँपालिकाको कार्यालयबाट रु.४ लाख १२ हजार, रु. ५ लाख हिमचुली कृषि सहकारी र स्थानीय कृषकहरुको रु. ५ लाख ५० हजार बराबरको श्रमदानमा आलु चिस्यान केन्द्र निर्माण गरिएको कृषि सहकारीले जनाएको छ । आलुको लागि निकै उर्वर मानिने धम्जाको ओखले र असौजे गाउँलाई केन्द्रित गरेर चिस्यान केन्द्र बनाइएको हो । भण्डारण अभावमा आलु कृषक निरुत्साहित हुने अवस्था भएका कारण चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको प्रदेश सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो ।

सहकारीमा आवद्द ६० शेयर सदस्य तथा अन्य आलु किसानहरुले उपभोग गर्ने गरी चिस्यान केन्द्र निर्माण गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष याम श्रीसले बताउनुभयो । धम्जामा वार्षिक एक करोड बढिको आलु उत्पादन हुँदै आएको छ । वडा कार्यालयले गाउँपालिकाकोे सहयोगमा धम्जालाई आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिरहेको श्रीसले जानकारी दिनुभयो । बागलुङमा ढोरपाटन, ताराखोला, तमानखोला, निसिखोला र धम्जा लगायतका स्थान आलु उत्पादनका हिसावले राम्रो स्थान मानिन्छन् ।

करिब २०० क्विन्टल आलु राख्ने क्षमता भएको चिश्यान केन्द्र निर्माण संगै यहाँका आलुकृषकहरु हर्षित भएका छन् । मौसममा आलुकोे राम्रो मुल्य नपाएका वेला चिस्यान केन्द्रमा आलु राखेर वेमौसममा विक्रि गर्दा तेव्वर नाफा कमाउन सक्ने आलु किसानहरु बताउँछन् । चिस्यान केन्द्रमा बिक्रिका लागि र बिउँका लागि छुट्टाछुट्टै भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ ।

सहकारीले चिस्यान केन्द्र सञ्चालन कार्यविधि बनाएर चिश्यान केन्द्रलाई सञ्चालन गरिने अध्यक्ष श्रीसले बताउनुभयो । चिस्यान केन्द्रमा आलु राखे वापत शेयर सदस्य तथा अन्य आलु किसानहरुले विद्युत महशुल तथा हेरालु खर्च व्यहोर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *