सिगानामा सुन्तला चिस्यान केन्द्र

खेमराज गौतम
बागलुङ

उत्पादित सुन्तला संकलन गरी वेमौसममा बिक्रि गर्नका लागि बागलुङ नगरपालिका–८ सिगानामा सहकारीको अगुवाईमा सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरिएको छ ।

सिगानामा क्रियाशिल गणेश व्यावसायीक कृषि सहकारी संस्था लिमिटेडको अगुवाईमा रु. ३१ लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरिएको हो । सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने सिगानामा सुन्तला भण्डारणको अभावका कारण सस्तो मुल्यमा सुन्तला बिक्री गर्दा सुन्तला किसान मर्कामा पर्दै आएका कारण सुन्तला चिस्यान केन्द्रको निर्माण गरिएको सहकारीले जनाएको छ ।

एकैपटक पाक्ने सुन्तला ठेकेदारले बोटबाटै टिपेर लैजादा किसानले भनेजस्तो मुल्य नपाउने समस्यालाई मध्यनजर गर्दै सुन्तला चिश्यान केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष राम बहादुर खड्काले बताउनुभयो । ‘सुन्तला कृषकले भण्डारण गर्न नसक्दा सस्तो मुल्यमा सुन्तला विक्रि हुँदै आएको थियो’ खड्काले भन्नुभयो ‘सुन्ताला चिश्यान केन्द्रमा भण्डार पश्चात सुन्तलालाई तेब्बर बढी मुल्यमा विक्रि गर्न सकिन्छ ।’ गण्डकी प्रदेश सरकारको रु.२१ लाख, बागलुङ नगरपालिका–८ वडा कार्यालयको रु.४ लाख तथा सहकारीको रु. छ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको कृषि सहकारीले जनाएको छ । सुन्तलाको लागि उर्भर भूमि रहेको सिगानामा चिश्यान केन्द्रको अभावमा सुन्तला कृषकहरु निरुत्साहीत भएका कारण चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको प्रदेश सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो ।

सहकारीमा आवद्द २०० शेयर सदस्य तथा अन्य सुन्तला किसानहरुले उपभोग गर्ने गरी चिस्यान केन्द्र निर्माण गरिएको वडा अध्यक्ष राजन जिसीले बताउनुभयो । सिगानामा वार्षिक डेढ करोड बढिको सुन्तला विक्रि हुँदै आएको छ । वडा कार्यालयले नगरपालिकाको सहयोगमा सिगानालाई सुन्तला गाउँ बनाउनका लागि वार्षिक दश हजार सुन्तलाको बिरुवा लगाइदै आएको छ ।

करिब २०० क्विन्टल सुन्तला राख्ने क्षमता भएको चिस्यान केन्द्र निर्माण संगै हर्षित भएको सुन्तला किसान रेशम थापाले बताउनुभयो । मौसममा सुन्तलाको राम्रो मुल्य नपाएका वेला चिस्यान केन्द्रमा सुन्तला राखेर वेमौसममा विक्रि गर्दा तेव्वर नाफा कमाउन सक्ने सुन्तला किसानहरु बताउँछन् । सहकारीले चिस्यान केन्द्र सञ्चालन कार्यविधि बनाएर चिश्यान केन्द्रलाई सञ्चालन गरिने अध्यक्ष खड्काले बताउनुभयो । चिस्यान केन्द्रमा सुन्तला राखे वापत शेयर सदस्य तथा सुन्तला किसानहरुले विधुत तथा हेरालु खर्च बेहोर्नुपर्ने हुन्छ । चिस्यान केन्द्रमा सुन्तला लगातार दुई महिना सम्म राख्न मिलनेछ । निर्माण गरिएको सुन्तला चिस्यान केन्द्रको गण्डकी प्रदेश सांसद सापकोटाले शनिबार उद्घाटन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *