नेपाली चलचित्र उद्योगमा सर्वाधिक सफल मानिएको चलचित्र बुलबुल ओस्कारमा सिफारिस भएको छ ।
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड ९अस्कर०मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । समितिको बुधबार बसेको बैठकले बुलबुललाई सिफारिस गरेको हो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । समितिले तोकेको मितिमा बुलबुल मात्र सहभागी भएको थियो ।
बुलबुलले सन् २०२० को फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । स्वस्तिमा खड्का र मुकुन भुसाल अभिनीत यो चलचित्र विनोद पौडेलले निर्देशन गरेका हुन् ।