आदर्श अनलाइन
पर्वत
सुत्केरी लिएर म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ट्याक्सी बर्षासँगै आएको भेलले बगाएको छ ।
पर्वतको कुश्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो ।
दुई दिनदेखि निरन्तर परेको बर्षाका कारण खोलामा आएको भेलले आज बिहान पौने पाँच बजेको समयमा ट्याक्सी बगाएको हो । खोलामा भेल आएको देखेपछि बिरामी र तिनका आफन्तलाई केही यता झारेर खोला पार गराउने प्रयास गर्दा भेलमा फसेको र बगाउने थप जोखिम पछि चालक म्याग्दीका हरिबहादुर खड्का ट्याक्सी छोडेर बाहिर निक्लिएका थिए ।
चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको तर मानवीय क्षति भने केही नभएको प्रेम श्रीसले बताउनुभयो । सडकबाट केही तल पुगेको ट्याक्सीलाई अहिले निकाल्न प्रयास भइरहेको उहाँको भनाई छ ।