प्रदेश नं. ३ सहकारी संघको अध्यक्षमा शर्मा घिमिरे चयन

आदर्श अनलाइन/ काठमाण्डौं

प्रदेश नंं ३ स्तरीय सहकारीकर्मीहरुको प्रारम्भिक भेला मंगलवार काठमाडौंमा सम्पन्न भएको छ ।

भेलाले ललितपुरका सहकारीकर्मी रामशरण शर्मा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय तदर्थ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको निवर्तमान सञ्चालक समेत रहनु भएका शर्मा घिमिरे पर्यटन जिल्ला सहकारी संघ ललितपुरबाट प्रतिनिधित्व गरेर अध्यक्ष चयन हुनु भएको हो ।

समितिको उपाध्यक्षमा जगतलाल महर्जन (ललितपुर), महिला उपाध्यक्षमा सीता ढकाल(काठमाडौं), सचिवमा भीमप्रसाद दाहाल(दोलखा), सहसचिवमा देवराज न्यौपाने (भक्तपुर) तथा कोषाध्यक्षमा टिकाराम भट्टराई(चितवन) चयन हुनु भएको छ । यस्तै सञ्चालकहरुमा मेनका घिमिरे दाहाल (मकवानपुर), दुर्गा कार्की (काठमडौं), अम्बिका थापा (ललितपुर) हेमलता मुडवरी (काठमाडौं), दिपक शर्मा जंगम (काभ्रे), विमलकुमार ढकाल (मकवानपुर), बालकुमारी श्रेष्ठ‘बिमला’ (सिन्धुली), कृष्णप्रसाद तिमिल्सिना (काभ्रे) र कृष्णभक्त नेपाल (सिन्धुपाल्चोक) रहनु भएको छ ।
भेलाले लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नेत्रराज पौड्याल (धादिङ) र सदस्यहरुमा लक्ष्मी गिरी (नुवाकोट) तथा कुलप्रसाद देवकोटा (चितवन)लाई चयन गरेको काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

भेलामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी ऐन कार्यान्वयनका क्रममा प्रदेश स्तरीय संघ र विषयगत संघहरु निर्माणको चरणमा सहकारीकर्मीहरु लागेको जानकारी दिनुभयो । प्रदेश स्तरीय संघहरुलाई सक्रिय बनाउदै सहकारी अभियानलाई बलियो र समृद्ध बनाउनका लागि सबै सहकारीकर्मीहरुको ध्यान पुग्नु पर्नेमा उहाको जोड थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष तथा आइसिए ग्लोबल बोर्ड मेम्बर ओम देवी मल्लले राज्यको संयन्त्रसंग समन्वय गरेर काम गर्नुपर्ने भएकोले प्रदेश संघको ठूलो भूमिका रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका लेखा संयोजक धर्मदत्त देवकोटाले संघियता कार्यान्वयन गर्ने प्रकृयाको स्वरुप प्रदेश संघ गठन भएको हुनाले प्रदेशले संघको कानून भित्र रहेर आफ्ना गतिविधि अगाडि बढाउनु पर्ने बताउनु भयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले प्रदेश सहकारी संघको गठन प्रक्रिया नयाँ भएकाले यसलाई सबै क्षेत्र, भुगोल र भावनाको प्रतिनिधित्व हुने गरी अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले सहकारी अभियानलाई बलियो बनाउन सबैसंग समन्वय गरेर अगाडि बढ्न सक्नु पर्ने बताउनुभयो ।

नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले सहकारी ऐनको व्यवस्था बमोजिम प्रदेश स्तरीय संघ गठन हुने क्रम सुरु भएको बताउनुभयो । जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईले गर्नु भएको थियो ।

३ नं.प्रदेशमा रहेका ८३ वटा सहकारीका विभिन्न विषयगत तथा जिल्ला सहकारी संघहरुका प्रतिनिधिहरुको सहभागिता रहेको भेलाबाट सर्वसम्मत अध्यक्ष चयन भएका शर्मा घिमिरेले सबैलाई समेटेर प्रदेश सहकारी संघलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *