मनसुन बाहिरिन अझै एक साता लाग्ने

आदर्श अनलाइन
काठमाण्डौं

नेपालीहरुको महान चाडपर्व शुरु हुँदैछ । मौसम विस्तारै घमाइलो बन्ने अपेक्षा नागरिकको छ । तर यसवर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने मौसमविदले बताएका छन् । मनसुनको औसत समय सोमबार अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् शान्ति कंडेलले बताउनुभयो ।

‘नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५, जुन २० मा मनसुन भित्रिएको थियो । त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ’, उहाँले भन्नुभयो।

गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो । मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन । मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ । मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने छैन । मनसुनी गतिविधि केही बाँकी नै रहेकाले दिउसो घाम लागी देशका केही भू–भागमा बेलुका तथा रातको समय हल्कादेखि मध्यम हुने गर्छ तर वर्षा लगातर नभई छोटो समय हुनेछ । यसमा अत्तिनु नपर्ने उहाँको भनाई छ ।

सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको सङ्ख्या बढिरहेको छ । आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार र बुधबार पनि सो क्रम यथावत रहने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *