अब गलकोटमा ‘स्टोन भिलेज’ सामुदायीक घरबास

–आदर्श अनलाइन, गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौर भुजुङेमा सामुदायीक घरबास सेवा शुभारम्भ गरिएको छ ।

‘स्टोन भिलेज’को रुपमा पहिचान बनाएको गलकोट भुजुङेमा स्थानीयको सक्रियतामा पाँच घरमा ‘गलकोट स्टोन भिलेज’ नामक सामुदायीक घरबास सञ्चालन गरिएको छ ।

होम स्टेको एक समारोहका बीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो । घरबास उद्घाटन पछि बोल्दै मन्त्री गुरुङले घरबासले स्थानीयको आयस्तर बृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो । यसका लागि स्थानीयहरु बढी जागरुक र पर्यटकलाई आकर्षित र व्यवस्थापन गर्नमा क्रियाशिल हुन सके भोलीको भविष्य उज्वल रहेको उहाँको भनाई थियो ।

पर्यटकीय हिसावले सम्भावना बोकेको भुजुङे गाउँमा पर्यटकहरुलाई खाना बस्नको राम्रो व्यवस्थाका लागि घरबास सेवा सञ्चालनमा ल्याइएको सामुदायीक घरबास सञ्चालक समितिका अध्यक्ष कमला श्रीसले बताउनुभयो । ‘सम्भावना राम्रो भए पनि ओझेलमा रहेको गाउँलाई प्रर्वद्धन गर्नका लागि घरबास सञ्चालनमा ल्याएका हौं,’ अध्यक्ष श्रीसले भन्नुभयो, ‘घरबासमा आउने पाहुनाका लागि मगर सँस्कृति र स्थानीय खानाका परिकारले आर्कषण गर्ने बिश्वास छ ।’ भुजुङेको पाँच घरमा सञ्चालन गरिएको घरबासलाई पर्यटकको उपस्थिति संगै बिस्तार गरिने स्थानीय समाजसेवी यामबहादुर श्रीसले जानकारी दिनुभयो ।

हाल एक रातमा २० जना भन्दा बढी पाहुना घरबासमा राख्न सकिनेछ । घरबासमा कोदोको रोटी, ढिँडो, लोकल कुखुराको स्वाद लगायत स्थानीय खानाका परिकार खान पाइनेछ । घरबासको शुभारम्भ सँगै स्थानीयले घर वरपर सरसफाई, बगैचा निर्माण लगायतका कार्य गरिरहेका छन् । पाहुनाको आगमन संगै शौचालयको सुधार, स्नान घर लगायतका भौतिक पूर्वाधार समेत निर्माण थालिएको छ । गलकोटको केन्द्र हटियादेखि एक घण्टाको दुरीमा रहेको घरबासमा गलकोट घुम्न आउने आन्त्रिक तथा बाह्य पर्यटकलाई सहज सेवा सुविधा उपलब्ध गराउने योजना छ । गलकोटमा गलकोट दरबार, सहस्र धारा झरना, गाईघाट झरना, घुम्टे लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार, पूर्वाधार र प्रर्वद्धन गर्न सकेमा घरबास सेवा सफल हुने स्थानीय बताउँछन् ।

घरबास शुरु भएपछि स्थानीयले लोपोन्मुख अवस्थामा पुगेका कला सँस्कृतिको संरक्षणका साथै प्रर्दशन समेत गर्नेछन् । घरबासमा आएका पाहुनालाई फूलमालाले स्वागत, रातमा स्थानीय समुदायले मगरको मौलिक नाँच कौडा, हुर्रा, सोरठी, ठाडो भाका बिशेष रुपमा देखाइने घरबास सञ्चालन समितिका सल्लाहकार फरेन्द्र थापाले जानकारी दिनुभयो । घरबास शुरु भएपछि गाउँको मौलिक संस्कार–संस्कृति र सामाजिक जिम्मेवारीमा युवाहरुको चासो पनि बढेको थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *