सुन्दर कुरुपको कविताकृति ‘पृथ्वीको आविष्कार’ सार्वजनिक

आदर्श अनलाईन, काठमाडौँ ।
पूर्वका कवि सुन्दर कुरुपको कविताकृति ‘पृथ्वीको आविष्कार’ राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा उक्त कविताकृति सार्वजनिक भएको हो ।

विमोचन समारोहमा बोल्दै प्राज्ञ काइँलाले सुन्दरको कवितामा आक्रोश र गाली नभएर नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको मार्मिक प्रस्तुति रहेको बताउनुभयो ।
सृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञातले पृथ्वीमा रहेका प्रत्येक व्यक्तिको आआफ्नै छुट्टै ’पृथ्वी’ हुने कुरालाई कविले कवितामार्फत प्रस्तुत गर्न खोजेको बताउनुभयो । नेपाली कविहरुले विज्ञानसम्मत कुराहरु लेख्नुपर्ने र त्यसमा मौलिकतापनि जोडेर लैजानुपर्ने उहाँले बताउनुभएको थियो । कवि अज्ञातले नेपाली मिडियामा सिन्डिकेट रहेकोतर्फ संकेत गर्दै मिडियाको वैचारिक लाइनसंग मिल्ने कविताहरु प्रकाशित हुने तर ईतर विचारका कविताहरु प्रकाशित हुन गाह्रो हुने गरेको बताउनुभयो । कवि सुन्दर कुरुपका मिडियामा अप्रकाशित कविताहरु यस अर्थमा उत्कृष्ट रहेकोपनि उहाँको धारणा थियो ।

युवा अभियन्ता तथा राजनीतिज्ञ मानुषी यमी भट्टराईले कवि सुन्दर कुरुपका कविताहरु राजनीतिज्ञहरुले पढ्न आवश्यक रहेको बताउनुभयो । कवि कुरुपका कविताहरुले सांस्कृतिक अभियान र आन्दोलनहरुमा टेवा पुर्याउने हुनाले उहाँका कविताहरु राजनीतिक महत्वका रहेको बताउँनुभयो ।

कवि सुन्दर कुरुपले आफ्नो कविताकृतिबारे बोल्दै आफ्ना कविताहरुको श्रोत गाउँ रहेको बताउनुभएको थियो । कविताकृति ’पृथ्वीको आविष्कार’लाई साङ्ग्रीला बुक्सले बजारमा ल्याएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *