गाई संरक्षण गर्न धौलागिरीमा पहिलो पटक ‘गौ-महोत्सव’

आदर्श अनलाइन,पर्वत

धौलागिरीमा पहिलो पटक स्थानीय गाईको संरक्षणका लागि ‘गौ-महोत्सव’ गरिने भएको छ ।

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो ।

वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी आदर्श अनलाइनलाई बताउनुभयो ।

उहाँका अनुसार महायज्ञ एवं महोत्सवबाट सङ्कलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वंश संरक्षण गरिनेछ । गौमहोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र पर्यावरणीय रूपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणका लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवका रूपमा महायज्ञ सञ्चालन गर्नु परेको बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको सङ्कल्प र स्थानीयवासीको सक्रियतामा विसं २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षण, अक्ष्य कोष स्थापनाका लागि आयोजना गरिएको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो । महायज्ञमा करीब रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्यसँगै पण्डित सुदर्शन बरालको कथा वाचन र प्रवचन रहनेछ । जलजला गाउँपालिका र कुस्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु पाँच हजार ५ सय ५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताव गरिएको छ भने महोत्सव अवधिभर एक हजार भन्दा बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष डण्डपाणि रिजालले जानकारी दिनुभयो । अहिलेसम्म चार सय जनाले आयोजक सदस्य बनेका छन् ।

विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पूर्वाधार विकाससँगै म्याग्दीको भुरुङतातोपानीदेखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौर सम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहासिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानाकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौ महोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिका रूपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।

यस्तो छ गाईको महत्व

पछिल्लो समय गाईपालन हराउन थालेसँगै लोप हुन लागेको गाईको धार्मिक र पर्यावरणीय महत्व रहेको छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ । गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ । गाईको मल खेती गर्नका लागि अति उपयोगी मानिन्छ भने गाईको प्रशोधन गरिएको गहुँत आयुर्वेद औषधि बनाउन प्रयोग गरिने भएकाले असीमित महत्व बोकेको गाई संरक्षणका लागि पहल थालिएको महायज्ञ आयोजक समितिले जनाएको छ ।

मानव सभ्यतासँग जोडिएको गाईको दूध, दही, घ्यू पोषिलो हुने मान्यता रहेको छ । गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने बताइएको छ । परम्परागत समाजमा गाईपालन बृहत् रूपमा हुँदै आए पनि पछिल्लो समय भने बिस्तारै हराउँदै जान थालेको छ ।

बृहत् गाईपालनको योजना प्रस्ताव

गाई संरक्षणलाई प्रमुख उद्देश्य राखिएको गौमहोत्सवबाट सङ्कलन हुने रकमबाट अहिले धाइरिङमा रहेको गौशालाको क्षमता विस्तार गरी गाईपालनलाई बृहत् बनाउने योजना अघि सारिएको छ । मूल आयोजक समितिले धाइरिङदेखि माथि विशाल जङ्गल रहेको र चरन क्षेत्रको अभाव नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो ।

गौशालाको क्षमता विस्तार गर्न सकेमा अहिले बेनी, बागलुङ र कुश्मामा छाडा छोडिएका गाईलाई गौशालामा लगेर व्यवस्थित गरिनेछ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचनसँगै गाई पूजा, गौदान भजनकीर्तन समेत प्रस्तुत गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *