आदर्श अनलाइन, पोखरा
कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उहाँको उम्मेदवारीमा गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेश सभा सदस्य प्रभा कोइराला समर्थक रहनुभएको छ ।
पोखरा राष्ट्र बैंक चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा भट्टराईले समर्थकहरु सहित पुगेर मनोनयन दर्ता गराउनुभएको नेकपा जिल्ला अध्यक्ष थापाले बताउनुभयो ।
११ बजेपछि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुस सहित उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम तय थियो । तर निर्वाचन अधिकृतको कार्यालयले त्यसअघि नै नेकपालाई मनोनयका लागि पालो दिएपछि सानो संख्यामा नेकपा टोली गएको थियो । उम्मेदवारी दर्ता पछि नेकपाले आफ्नै पार्टी कार्यालय अघिल्तिर सभा आयोजना गरेको छ ।
नेकपाकी उम्मेदवार विद्या भट्टराईभन्दा अघि स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले मनोनयन दर्ता गराउनुभएको छ । भिडभाड व्यवस्थापनसहित सहजताका लागि निर्वाचन अधिकृतको कार्यालयले पार्टीहरुलाई उम्मेदवारको मनोनयनका लागि विभिन्न समय उपलब्ध गराएको छ । अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वमा उक्त पार्टीकी नेतृ रजनी केसीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसले भने उम्मेदवारी मनोनयन गर्ने क्रममा रहेको छ ।