सहकारीलाई बिर्सेर समृद्धि संभव छैन: नगर प्रमुख पौडेल

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले समृद्धिको यात्रामा सहकारी क्षेत्रलाई बिर्सेर सफलता पाउन नसकिने बताउनु भएको छ ।

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारी सहितको तीन खम्बे अर्थनीति अंगिकार गरेको भन्दै उहाँले संविधानको परिकल्पना भन्दा बाहिर गएर समृद्धि संभव नभएको बताउनुभयो ।

जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाको समन्वयमा आइतवार नगरपालिकामा भएको संयुक्त वैठकमा बोल्दै नगर प्रमुख पौडेलले नगरपालिकाका जनताको समृद्धिका लागि सहकारीसंग निरन्तर समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सहकारी अभियान्ताहरुले स्थानीय तहहरुले सहकारीको क्षेत्रको प्रवद्र्धनमा ध्यान नदिएको गुनासो गरेपछि नगर प्रमुख पौडेलले विगतमा बढी समन्वय हुन सकेन होला अबका दिनमा नगरपालिकामा रहेको सहकारी शाखालाई प्रभावकारी बनाएर समन्वय गर्दै अगाडि बढ्ने बताउनु भयो ।
आगामी वर्षलाई नगरपालिकाले बागलुङ भ्रमण वर्ष मनाउने तयारी गरेको जानकारी गराउदै उहाँले पर्यटन प्रवद्र्धनमा पनि सहकारीको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले नगरपालिकाले सहकारीहरुको दर्ता, नियमन, प्रवद्र्धन र नियम अनुसार नचलेको अवस्थामा कार्वाही गर्ने अधिकार भएकाले नगरपालिकाको सक्रियता आवश्यक रहको बताउनुभयो । सहकारी सम्बन्धी दिवसहरु नगरपालिकाले संघहरुसंग समन्वय गरेर मनाउनु पर्ने भन्दै जिसीले बागलुङ भ्रमण वर्षमा देशभरका सहकारीकर्मीलाई बागलुङ ल्याउने वातावरण बनाउनका लागि जिल्ला सहकारी संघलाई जिम्मेवारी दिन समेत आग्रह गर्नु भयो ।

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले नगरपालिकाले सहकारी हेर्ने शाखालाई व्यवस्थित गराई सहकारीहरुको तथ्यांक संकलन, सहकारीहरुको प्रवद्र्धनमा ध्यान दिन सुझाव दिनुभयो ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बागलुङको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा सहकारी संघ बागलुङ नगरपालिकासंग सहकार्य गरे अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभा सदस्य नरबहादुर थापाले सहकारी मार्फत उत्पादनका लागि नगरपालिका सकारात्मक हुनु पर्नेमा जोड दिनुभएको थियो ।
जिल्ला सहकारी संघका सचिव तेजेन्द्र थापाले सहकारीहरुको तथ्यांक अद्यावधिक गर्ने र चाहिएको समयमा दिने व्यवस्था सुझाव दिनुभयो ।

बागलुङ नगरपालिकाका आर्थिक विभाग प्रमुख तथा वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष ध्रुवबहादुर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा, योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी लगायतले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको थियो ।

वैठकले सहकारी ऐन, नियम तथा मूल्य मान्यता र सिद्धान्त अनुसार सबै सहकारीहरुलाई सञ्चालन गराउन तथा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि बागलुङ नगरपालिका र जिल्ला सहकारी संघबीच समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *