आदर्श अनलाइन, बागलुङ
धौलागिरी बहिरा आवासिय मावि बागलुङको आयोजनामा तीन दिने बाल संरक्षण सचेतना तालिम बुधवार सम्पन्न भएको छ ।
फरक क्षमता भएका बालबालिकालाई बिभेद र हिंसा नगरी बालमैत्री शिक्षण गर्ने गराउने उद्धेश्यले बहिरा र अपांगता भएका बालबालिका रहेका बिद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि तालिम आयोजना गरिएको हो ।
बिद्यालयको आयोजना र परिलक्षित संस्थाको सहयोगमा शुक्रबारदेखि सञ्चालित तालिममा धौलागिरी बहिरा बिद्यालयका २४ जना शिक्षक र रामरेखा आधारभूत बिद्यालयका एक जना गरि २५ जनाले सहभागिता जनाएको बहिरा बिद्यालयका प्रधानाध्यापक रेशम श्रीसले जानकारी दिनुभयो । तालिमको सहजीकरण कास्कीमा कार्यरत स्रोत व्यक्ति ढकप्रसाद पुनले गर्नुभएको थियो ।
तालिमको समापनका अवसरमा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि शिक्षकहरुलाई अरु तालिम दिए पनि बाल संरक्षण सवाल छुटेको अवस्थामा यस किसिमको तालिम आयोजना सुखद बिषय भएको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी शिक्षकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा परिलक्षित संस्थाका निर्देशक सुर्य थापा, बिदेशी नागरिक कृष्टि, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रशिक्षक ढकप्रसाद पुन, बहिरा बिद्यालयका सहायक प्रधानाध्यापक सन्तोष पौडेल, सहभागीका तर्फबाट सुदिप भेटवाल, सावित्री थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दयाराम गौतमको अध्यक्षता र प्रधानाध्यापक रेशम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।