पार्टी गुटबन्दीको शिकार भो, तलबाटै दबाब दिनुस्-काँग्रेस नेता महत

आदर्श अनलाइन,बागलुङ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले काँग्रेस पार्टी गुटबन्दीको शिकार बन्दै गएको बताउनुभएको छ ।

उहाँले पार्टीका शिर्ष नेताहरु गुटबन्दीमा लागेकोमा चिन्ता व्यक्त गर्दै अब जिल्ला र स्थानीय स्तरबाट दबाब दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाली काँग्रेसले सोमवार बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता महतले पछिल्लो समयमा पार्टी भित्र गुट उपगुटको खेती झनै मौलाउँदै गएको बताउनुभयो ।

उहाँले शिर्ष नेताहरुका कारण पछिल्लो पुस्ता सम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरेर एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । नेतृत्व बिच छलफल गरेर १४ औं महाधिवेशनको मुद्धालाई सहमतिका साथ निर्णय गरेर सभापति अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो । ‘सहमति गरेर समयावधी बढाऔं’ नेता महतले भन्नुभयो, ‘नेतृत्वले सवैको कुरा सुन्नुपर्दछ, हामी विपक्षसँग लड्ने हो, आफु–आफु त सहमति बनाएर अगाडी बढ्नुपर्छ ।’ उहाँले समायवधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाको यथाशिघ्र अधिवेशनको बाटोमा जानुपर्नेमा पनि जोड दिनुभयो ।

डा. महतले काँग्रेसको ल्याएको बलियो अर्थनितिको सिद्धान्तले अहिले राज्य बलियो भएको दावी समेत गर्नुभयो । ‘हामीले खुल्ला अर्थ नीतिको सिद्धान्त ल्यायौं, यही सिद्धान्तलाई अहिलेको सरकारले पनि आत्मसाथ गरेको छ ।’ उहाँले भन्नुभयो, ‘काँग्रेसले बोकेको राजनीतिक विचारमा सवै आउन बाध्य भएका छन्, काँग्रेसले खोजेको समाजबादको पक्षमा सरकार विस्तारै लाईनमा आएको छ ।’

नेता महतले पहिले आफुले कर निर्धारण गर्दा पुत्ला दहन गर्ने कम्युनिष्ट नेतृत्वको सरकारले झन् बढी कर लगाएको टिप्पणी गर्नुभयो । ‘करको सुरुवाती काँग्रेसकै सरकारका पालामा भएको हो, ऊ बेला कम्युनिष्टका साथीहरु चोक चोकमा हाम्रो पुत्ला दहन गर्न हिड्नुभयो,’ नेता महतले भन्नुभयो, ‘अहिले सरकारले त्यही हरेक क्षेत्रमा लगाउने करमा बृद्धि गरेको छ, यदी जनताको पक्षमा बोल्ने हो र कर महंगो भएको हो भने अहिले पनि पुत्ला दहन गर्नुप¥यो नि ? आफ्ना पालामा जे भए पनि राम्रो, अरुका पालामा भएकोलाई नराम्रो ठान्ने प्रबृतिले देश अगाडी बढ्न नसक्ने उहाँको भनाई थियो । उहाँले सरकार आफ्ना गतिविधिले दिनानुदिन बदनामी बन्दै गरेको बताउनुभयो ।

कार्यक्रममा पुर्व सांसद यज्ञबहादुर थापाले काँग्रेस मुलुकको लोकतन्त्रको रक्षा गरेको पार्टी भएको हुँदा आफ्नो संगठन बलियो बनाएर लैजाने पर्ने बताउनुभयो ।

कार्यक्रम नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायको स्वागत मन्तव्य र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *