साग पदक बिजेता बागलुङका दुई खेलाडीलाई बुर्तिबाङमा सम्मान

सुमन सुनार, बुर्तिबाङ

१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक जित्न सफल बागलुङको तमानखोला गाउँपालिकाका दुई खेलाडीलाई बुधबार बुर्तिबाङमा सम्मान गरिएको छ ।

क्षेत्रिय दलित संजाल क्षेत्र नं. २ बागलुङले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा बिशेष कार्यक्रमका विच नगद सहित सम्मान गरेको हो ।

गत मंसिर १५ देखि २४ सम्म काठमाण्डौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालका तर्फबाट कराँते प्रतियोगितामा सहभागी भई स्वर्ण पदक विजेता तमानखोलाका नविन रसाइली र कास्य पदक हासिल गर्न सफल रसाइलीका सहोदर भाई राजकुमार रसाइलीलाई नगद पाँच÷पाँच हजार रुपैयाँ, सम्मान–पत्र सहित दोसल्ला र अविर लगाएर सम्मान गरिएको थियो ।

तमानखोला गाउँपालिकाको वडा नं. २ भयरबोंगा घर भएका स्वर्ण र कास्य पदक बिजेता रसाईली दाजुभाईलाई ढोरपाटन नगरपालिकाका नगर उप–प्रमुख करमती पुनले सम्मान प्रदान गर्नुभएको थियो । पदक बिजेता खेलाडीलाई बुर्तिबाङ नगर परिक्रमा गराई बुर्तिबाङ बसपार्कमा सम्मान तथा अभिनन्दन गरिएको थियो ।

सोही अवसरमा विश्वकर्मा समाज बुर्तिबाङले पनि नगद रु. ५ हजार सहित खादा अविर लगाएर सम्मान गरेको थियो भने सुनचाँदी व्यवसायी संघ बुर्तिबाङले पनि नगद सहित सम्मान गरेको थियो ।
सम्मान पछि बोल्दै ढोरपाटन नगरपालिकाका उप–प्रमख करमती पुनले पश्चिम बागलुङको बिकट क्षेत्र तमानखोलाबाट प्रतिनिधित्व गरेर पदक जित्नु सिंगो जिल्लाबासी र देशका लागि गौरवको बिषय भएको बताउनुभयो । रसाईली बन्धुहरुले सिंगो राष्ट्रको मात्र नभएर बागलुङको पहिचान खेलमा स्थापित गरेको बताउनुभयो । विभिन्न अभाव र चुनौतीका बिचमा पनि राम्रो खेलेर मेडल दिलाएको भन्दै यसले अन्य खेलाडीलाई पनि प्रेरणा र उर्जा दिने उहाँले बिश्वस व्यक्त गर्नुभयो ।

सम्मान पछि पदक विजेता नविन रसाईली र कास्य पदक विजेता राजकुमार रसाईलीले सम्मानले आँफुहरुलाई थप हौसला थपेको बताउनुभयो ।

बुर्तिबाङ राईजिङ युवा क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक यामु पौवीको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ४ र ८ का वडा सचिव बिराज बिश्वकर्माको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन संचारकर्मी योगेन्द्र विश्वकर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *