बागलुङमा सहकारी बैंकको पर्ल्स अनुगमन तालिम शुरु

सहकारीलाई समृद्धीको प्रमुख आधार बनाऔं : प्रमुख ढुंगाना
-आदर्श अनलाइन,बागलुङ

जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले सहकारी क्षेत्रलाई समृद्ध समाज निर्माणको प्रमुख आधार बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले आयोजना गरेको तीन दिने पर्ल्स अनुगमन तालिमको उद्घाटन गर्दै ढुंगानाले यस्तो बताउनु भएको हो ।

संविधानले नै सहकारीलाई आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाका रुपमा लिएकोले सबै क्षेत्रले सहकारीलाई प्रभावकारी बनाउदै समृद्धिको महत्वपूर्ण आधारका रुपमा विकास गर्नु पर्नेमा उहाँको जोड थियो ।

सहकारी आम जनताका बीचमा पहुँच भएको, वित्तीय सेवाका साथै जनतालाई व्यवसाय गरेर आयआर्जन गर्न, वचत गर्न सिकाउनुका साथै समाजमा मिलेर बस्ने, सबैको सहभागिता गराउने काममा सहकारी क्षेत्रको भूमिका प्रभावकारी रहेको छ, ढुंगानाले भन्नुभयो–जनतालाई व्यवसायिक बनाउनका लागि सहकारी क्षेत्र सबै भन्दा उत्तम र प्रभावकारी माध्यम हो ।

प्रमुअ अतिथी जिसस प्रमुख राजेन्द्र ढुंगानालाई मायाको चिनो प्रदान गर्दै सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सहकारी बैंक निरन्तर क्रियाशिल रहेको बताउनुभयो । उहाँले सहकारी संघ संस्थाहरुको दिगोपनाका लागि बैंकले वित्तीय तथा क्षमता विकास र स्तरीकरणका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । बैंकले शेयर लाभांश सहित कारोबारका आधारमा प्रदान गरिने संरक्षित पूँजि फिर्ता कोषको रकमबाट सदस्य संस्थाहरुलाई थप रकम दिदै आएको भन्दै जिसीले सबै सहकारीहरुलाई सहकारी बैंकमा कारोबार गर्न आव्हान गर्नु भयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डीप्रसाद शर्माले सहकारीहरुको स्वास्थ्य अवस्था परिक्षण गरी थप प्रभावकारी बनाउनका लागि पल्र्स अनुगमन तालिम आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य नरबहादुर थापा, बहुउउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, तालिमका प्रशिक्षक अनिल विर बज्राचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तालिम उद्घाटन कार्यक्रम बैंकका सञ्चालक जिसीको अध्यक्षता, शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालन र कर्मचारी नवप्रसाद ढकालको स्वागतमा सम्पन्न भएको थियो । तालिममा विभिन्न विषयका ३५ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा पदाधिकारीहरुसहित ३५ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को हालै सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्वाचित चण्डीप्रसाद शर्मालाई सहकारी बैंक बागलुङ शाखाको तर्फबाट सम्मान गरिएको थियो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक ढुंगाना, बैंकका सञ्चालक जिसी लगायतले नवनिर्वाचन सञ्चालक शर्मालाई सम्मान गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *