हिउँले करिडोरको जोमसोम-कोरला सडक निर्माण कार्य ठप्प

फाइल तस्विर

सुन्दर थकाली, जोमसोम

कालिगण्डकी करिडोर सडकको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला १ सय १० किमि सडक निर्माण ठप्प भएको छ।

हिमपात र ठण्डीले विगत १ महिनादेखि काम ठप्प छ। चिसो बढेकाले सडकको काम स्थगित गर्नुपरेको आयोजनाले जानकारी दिएको छ।

जोमसोम–कोरला ७ प्याकेज मध्ये ३ प्याकेज सम्पन्न भइसकेको छ। बाँकी ४ वटा प्याकेज अन्तिम चरणमा छन्। जोमसोम–कोरला ३ प्याकेज सम्पन्न भइसक्दा कुल औसत प्रगति ८५ प्रतिशत देखिएको करिडोरले जनाएको छ। उत्तरी कोरलानाकासँग सीमा जोडिएको छोसेर–कोरला २५ किमि, ताङ्बे–चैले ११ किमि र जोमसोम–ताङ्बे १८ किमि ग्राभेल सडक गरी ३ प्याकेज करिडोरलाई हस्तान्तरण भइसकेको हो।

दिवा रौटाहा एपेक्स जेभी, दिवा डाँफे एपेक्स जेभी र बज्रगुरु खड्गकृष्ण जेभीले कोरलाको ३ वटा प्याकेज तोकिएकै समयमा पूरा गरेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सम्पन्न हुन बाँकी ४ प्याकेजको काम अवधि सकिएकाले म्याद थपको प्रक्रियामा छ। हालसम्म कञ्चनजंघा लामा मोतीदानको झैते–चराङ १९ किमि सडकको काम ६८ प्रतिशत ,सप्तकोसी जलाधार कन्ट्रक्सनले पछिल्लो समय जिम्मा लिएको चराङ–छोसेर २५ किमि सडकको काम ५५ प्रतिशत र कञ्चनजंघा लामा बिरुवा जेभीकाभेना–झैते १२ किमि सडकको प्याकेज ९५ प्रतिशत सम्पन्न भएको करिडोरले जनाएको छ। उपल्लो मुस्ताङको भेना–झैते १२ किमि सडक अन्तिम चरणमा छ। सम्झौता अवधिमा सम्पन्न नभएका प्याकेजको चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभागमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजना प्रमुख अधिकारीले बताए। म्याद थप भएपछि फागुनदेखि सडकको कामले तीव्रता पाउने करिडोरको विश्वास छ।

यस्तै,तेस्रोपटक सम्झौता अवधि सकिएको बेनी–जोमसोम ७६ किमि सडकखण्डको आगामी असारमा म्याद सकिनेछ। बेनी–जोमसोम खण्डमा ४ वटा प्याकेज छन्। यसको औसत प्रगति ५५ प्रतिशत भएको छ। शर्मा युनाइटेडले म्याग्दीको राहुघाटदेखि तातोपानीसम्म ५३ प्रतिशत, शर्मा गजुरमुखी जेभीले तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको २ प्याकेज ५२ प्रतिशत सम्पन्न गरेको छ भने सप्तकोसी जलाधार कन्ट्रक्सनले कोवाङ–जोमसोम ५५ प्रतिशत सकेको करिडोरको भनाइ छ।

उत्तरी कोरलानाका जोड्ने लक्ष्यसहित सरकारले २०७३ साल असारदेखि आयोजना सुरु गरेको हो। आर्थिक वर्ष २०७४ असोजबाट जोमसोम–कोरला सडक सुरु भएको आयोजनाले बताएको छ। बेनी–जोमसोम ७६ किमि सडक २०७४ असारबाट सुरु भएको हो। राष्ट्रिय गौरवको बेनी–जोमसोम र जोमसोम–कोरला सडकलाई ६ अर्ब ५२ करोड विनियोजन भएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए। आर्थिक वर्ष ०७५/०७६ सालमा बेनी–जोमसोम,जोमसोम कोरला सडकमा मालढुंगा–बेनी सडक स्तरवृद्धि गर्न १० करोड विनियोजन भए पनि खर्च हुन नसकि फ्रिज भएको आयोजनाले बताएको छ।

बेनी–जोमसोम सडकखण्डमा बर्खायामा सडक निर्माणमा असहज बनाउँदै आएको छ। निर्माण कम्पनी र ठेकेदारको ढिलासुस्तीका कारण पनि अपेक्षाअनुसार सडकको प्रगति नभएको आयोजना प्रमुख अधिकारी जनाए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *