९ महिने बागलुङ बसाई सुखद: प्रजिअ क्षत्री

आदर्श अनलाइन, बागलुङ

जिल्लाबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले ९ महिनाको बसाई सुखद र सन्तोषजनक भएको बताउनुभएको छ ।

कार्यक्रममा गृह मन्त्रालय जान लाग्नुभएका क्षत्रीले जिल्लाको शान्ति सुरक्षा, विप्लव गतिविधि, प्रादेशिक उपनिर्वाचन लगायतका बिषयको समन्वयकारी भुमिकाले आफुलाई सन्तोष र सफलता मिलेको बताउनुभयो ।

यस कार्यमा जिल्लाका राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख र पत्रकारहरुले खेलेको भुमिका स्मरणीय रहेको भन्दै बुधवार प्रशासन कार्यालयमा संक्षिप्त कार्यक्रम आयोजना गरेर प्रजिअ क्षेत्रीले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । ‘हामीले राजनीतिक दल, जनप्रतिनिधि र नेताहरुले जस्तो नयाँ काम र प्रतिवद्धता व्यक्त गर्ने भन्ने हुँदैन,’ प्रजिअ क्षत्रीले भन्नुभयो,‘गृहमन्त्रालयले निर्देश गरे अनुसारको कामलाई चुस्त र प्रभावकारी बनाउन जिल्लामा नेतृत्वदायक भुमिका खेल्ने हो, यसमा निर्विवाद ९ महिना बिताउन पाए, म यसमा खुशी छु ।’

उहाँले बागलुङ बसाईको सबै भन्दा महत्वपूर्ण उपलब्धिको रुपमा बागलुङ–बुर्तिबाङ सडक खण्डको भाडादर समायोजन रहेको बताउनुभयो । ३/४ बर्षअघि घोडाबाँधेदेखि बुर्तिबाङ सम्म लोकमार्ग कालोपत्रे भइसक्दा समेत कच्ची सडककै भाडा यातायात व्यवसायीले मनोमानी रुपमा लिदै आएका थिए । तर, पटक पटक यो आवाज पत्रकार सञ्चार माध्यम र सर्वसाधारणले उठाए पनि सम्बोधन हुन सकेको थिएन । प्रजिअ क्षत्रीको अध्यक्षतामा भएको भाडा निर्धारण व्यवस्थापन समितिले केही साता अघि भाडा समायोजनको निर्णय गरेको थियो । अहिले उक्त खण्डमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले केही राहत महुशुस समेत गरेका छन् ।

गत बैशाख २० गते प्रमुख जिल्ला अधिकारीका रुपमा बागलुङ आउनु भएका क्षेत्री सरकारले आइतबार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने क्रममा गृहमन्त्रालय सरुवा हुनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नगर अध्यक्ष धनबहादुर परियार, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, नेपाल रेडक्रस सोसाइटीका सभापति जब्बरबहादुर लामिछाने, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले प्रजिअ क्षेत्रीको सन्तुलित र समन्वयकारी भुमिकाको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस क्रममा रेडक्रसले विपत व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ क्षत्रीलाई खाँदा ओढाएर बिदाई गरेको थियो । कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *