सुन्दरकुमार थकाली, जोमसोम
गत सोमबार देखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहिबार बिहान १० बजे देखि खुलेको छ ।
सडक निर्माणको क्रममा अचानक सुख्खा पहिरो गएकाले मुस्ताङको थासाङ गाउपालिका–४ र ३ को बीचमा पर्ने घैकु खोला आसपास करिव १५ किमी सडक पुरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ,सुरक्षा निकाय ,जनप्रतिनिधि ,स्थानीयबासीको पहलमा बुधबार देखि शर्मा गजुरमुखिको उपकरण प्रयोग गरी सडक खुलाईएको मुस्ताङ निमित्त प्रजिअ घनश्याम गौतमले जानकारी दिए ।
यसअघि सडक सफा गर्न अप्ठ्यारो र जोखिम भएकाले बिस्पोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाईएको थियो । बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर ईन्द्रसिह शेरचनका अनुसार कठिन मेहनतका सडक खुलाइएको बताए । उनले उपकरण चलाउने थप अपरेट मगाएर सडक सफा गरी दोहोरो आउजाउ संञ्चालन भएको बताए ।
सुख्खा पहिरोले सडक भासिएपछि स्काभेटरसहित चालक कालिगण्डकी नदीमा खस्दा सिन्धुपाल्चोकका अर्जुन दाहालको घटना स्थलमै मृत्यु भएको थियो भने एक यात्रुबाहक बसमा क्षति पुगेको थियो । यसअघि सुख्खा पहिरोले सडक अवरुद्ध हुदा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।