मणिमुकुन्द अन्तर जिल्ला भलिबलको उपाधि बागलुङले जित्यो

आदर्श अनलाइन, तिलोत्तमा

उपाधि दावेदार स्याङ्जालाई स्तब्ध पार्दै बागलुङले सातौ संस्करणको मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार राति तिलोत्तमा २ देवकोटा पथ शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको खेलमा स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै बागलुङले उपाधि जितेको हो । स्याङ्जामा सन्जुविक्रम शाह, हरि पाण्डे, कमल सुनार, योकेन्द्र गुरुङ, राजन दर्लामी मगर जस्ता नाम चलेका खेलाडी रहेपनि बागलुङसँग पराजित हुन पुग्यो ।

पहिलो सेट बागलुङले २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट स्याङ्जाले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तर, त्यसपछिको दुवै सेट बागलुङले २५–२१ र २५–१६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । बिहीबार राति नै रुपन्देहीले नवलपरासीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

उपाधिसँगै बागलुङले १ लाख २ हजार २ सय २२ रुपैया हात पार्‍यो । दोस्रो भएको स्याङ्जाले ७२ हजार २ सय २२ रुपैयामा चित्त बुझायो । तेस्रो भएको रुपन्देहीले ४५ हजार ५ सय ५५ रुपैया तथा चौथो भएको नवलपरासीले २५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्‍यो ।

बागलुङका राजु विके प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । बागलुङकै कुस्मन थापा अनुशाषित खेलाडी घोषित भए । उनीहरुले समान ५–५ हजार प्राप्त गरे । स्याङ्जाका हरि पाण्डे उत्कृष्ट स्पाइकर, बागलुङका मिन सुनार उत्कृष्ट सेटर, रुपन्देहीका प्रप्तम खवास उत्कृष्ट सर्भर, स्याङ्जाका कमल सुनार उत्कृष्ट ब्लकर, रुपन्देहीका जिवस रसाइली उत्कृष्ट लिवेरो, रुपन्देहीकै आदर्श रसाइली उदियमान खेलाडी घोषित हुदा स्याङ्जाका राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ३–३ हजार रुपैया हात पारे ।

१९ फागुनबाट शुरु भएको प्रतियोगितामा गण्डकी र प्रदेश ५ का १२ जिल्लाको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।

सर्वोत्कृष्ट खेलाडी

राजु बिके – बाग्लुङ

अनुशाषित खेलाडी

कुस्मन थापा – बाग्लुङ

उदियमान खेलाडी

आदर्श रसाइली – रुपन्देही

उत्कृष्ट

स्पाइकर – हरि पाण्डे स्याङ्जा

सेटर – मिन सुनार बाग्लुङ

सर्भर – प्रप्तम खवास रुपन्देही

ब्लकर – कमल सुनार स्याङ्जा

लिवेरो – जिवस रसाइली रुपन्देही

प्रशिक्षक – राजेन्द्र शर्मा स्याङ्जा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *