बागलुङका गीतकार सुमन श्रापितको पोखरामा एकल साँझ

आदर्श अनलाइन,बागलुङ

बागलुङका लोकप्रिय सर्जक सुमन श्रापितको पोखरामा एकल सांगीतिक साँझ हुँदैछ ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको आयोजनामा हुने एकल साँझको सबै तयारी पूरा भएको छ ।

प्रतिष्ठानले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रम तयारी पूरा भएको जनाएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भोली फागुन ३० गते शुक्रबार दिउँसो २ बजे हुने कार्यक्रमको तयारी पुरा भएको प्रतिष्ठान संस्थापक अध्यक्ष एवं मूल आयोजक समिति संयोजक नवराज बरालले जानकारी दिनुभयो । प्रतिष्ठानले विविध सांस्कृतिक गतिविधि संचालन गर्नेक्रममा यसपालि एकल साँझमा साहित्य, संगीत र पत्रकारितामा क्रियाशिल स्रष्टा सुमनलाई उभ्याउन लागेको उहाँको भनाई छ । कार्यक्रमबाट संकलित रकम कलाकार उपचार कोषमा सहयोग खर्च गरिनेछ ।

प्रतिष्ठान महासचिव मनकुमार श्रेष्ठका अनुसार, सांगीतिक स्वादका अलावा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण विरुद्ध सो कार्यक्रममा सचेतना समेत गराइनेछ ।

स्रष्टा सुमन श्रापितले सांगीतिक उकाली चढ्नेक्रममा आफूलाई सो स्थान दिएको प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल पार्न सम्पूर्णमा सहयोगका लागि आग्रह गर्नुभयो।

एकल साँझका मुख्य प्रस्तोता संगीतकर्मी बिबि अनुरागीले आफ्नो टिमले पाँच दिनदेखि पोखरामै रहेर कार्यक्रम प्रस्तुतिको प्रयाप्त तयारी गरिरहेको जानकारी दिनुभयो । आफ्ना अनन्य मित्र सुमनको कार्यक्रम सफल पार्न आफूहरु लागिपरेको उहाँको भनाइ छ ।

प्रतिष्ठान अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मूल आयोजक समिति संयोजक नवराज बराल, कार्यक्रममाथि प्रकाश प्रचार उपसमिति सहसंयोजक विजय नेपाल र संचालन प्रचार संयोजक राजाराम पौडेलले गर्नुभयो ।

सुमनको एकल साँझमा बीबी अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसी छेत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैरे, रुपेश भण्डारी, योगेश गौतम लगायतले सुमनका चर्चित डेढ दर्जन गीत गाउनेछन् । कार्यक्रममा ८ लाख ८५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतिष्ठानले यसअघि हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, खिम गुरुङ प्हाए आलीको एकल साँझ सम्पन्न गरिसकेको छ ।

सपालिको कार्यक्रमका लागि विभिन्न ९ वटा उपसमिति गठन गरिएको मूल आयोजक समिति सदस्य असफल गौतमले बताउनुभयो । राजधानी बाहिर रहेर सबैभन्दा बढी गीत रेकर्ड गराउने सुमन बाग्लुङ नगरपालिका–९, तित्याङका हुन् । उनी लामो समयदेखि पोखरामा रहेर सांगीतिक क्षेत्रमा रमाइरहेका छन् ।

बीबी अनुरागी सङ्गीत घराना काठमाडौं अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली गीतसङ्गीत मञ्च महासचिव, डागर स्मृति प्रतिष्ठान सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान लगायत संघसंस्थामा आवद्ध उनी हालसम्म दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित छन् । २०७४ मा वर्ष गीत पुस्तक पुरस्कारबाट सम्मानित उनले आधा दर्जन फिल्ममा गीत लेखेका छन् भने थुप्रै एल्बम एवं पुस्तक प्रकाशित गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *