एसइई दिन गएका परीक्षार्थीलाई घर फर्कन पालिकाको सहयोग

सन्तोष गौतम, म्याग्दी

माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घर फर्कन लागेका विद्यार्थीलाई म्याग्दीका तीन स्थानीय तहले राहतका लागि सहयोग गरेका छन् ।

धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले परीक्षा केन्द्रमा डेरा खोजेर बसेका विद्यार्थीको खाना र खाजाको खर्च व्यहोरेको हो।

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा बुधबार साँझ स्थगित गरेको थियो । धवलागिरी गाउँपालिकाले विद्यार्थीको खाजा(खाना खर्चका लागि ९ वटा विद्यालयलाई दश÷दश हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष थमसरा पुनले बताइन् ।

घरबाटै परीक्षामा सामेल हुने ताकम माविबाहेक विद्यालयका विद्यार्थीले यो सुविधा पाएका छन् । विकट गुर्जाको जनकल्याण माविका विद्यार्थी जंगल र भीरको बाटोमा हिउँ छिचोलेर पुरै दिन हिडेर हेम मावि शिवाङ परीक्षा केन्द्रमा आएका थिए । उनीहरुलाई एक दिन विश्राम गर्न र बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च पालिकाले ब्यहोर्ने अध्यक्ष पुनले बताइन् ।

अन्नपूर्ण गाउँपालिकाले प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । मुक्तीमार्ग मावि घार परीक्षा केन्द्रमा ११८ र बेनीको परीक्षा केन्द्रका ५० जना विद्यार्थी छन् । सम्बन्धित विद्यालय मार्फत खाना खर्च वापतप्रति विद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिए ।

रघुगंगा गाउँपालिकाले दुरिका हिराबले दुई भागमा बाडेर प्रतिविद्यार्थी एक हजार र एक हजार पाँच सयका दरले सहयोग गर्ने अध्यक्ष भवबहादुर भण्डारीले बताए । रितंगु मावि कुइनेमंगले, अमर मावि पाखापानी, अमर मावि चिमखोला, र महेन्द्र मावि झिँकालाई एक हजार पाँच सय दिने भएको छ ।

रघुगंगा मावि पिप्ले, ज्ञानोदय मावि मौवाफाँट, जनता मावि दग्नाम र महादेव मावि बेगका विद्यार्थीलाई एक हजार दिने उनले बताए । उनीहरुका लागि मुक्तिधाम मावि भगवतिमा केन्द्र तोकिएको छ । मुक्तिधाम माविका विद्यार्थी एसईई परीक्षामा सहभागी हुन बेनी आएका थिए ।

कक्षा १० सम्मको पढाइ हुने विद्यालयको वार्षिक परीक्षा सकिएको र क्याम्पस बिदा भएपछि विद्यार्थी गाउँ फर्कन थालेका छन् । बालबच्चा पढाउनका लागि सदरमुकाम झरेका पनि गाउँ फर्कने क्रम बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *