एकै विद्यालयमा ३१ अक्षय कोष स्थापना

आदर्श अनलाईन
बागलुङ ।

जिल्लाको एक सामुदायिक बिद्यालयमा बिभिन्न नामका ३१ वटा अक्षयकोष स्थापना गरिएको छ । शिक्षाको गुणस्तरमा वृद्धि गर्नका लागि भन्दै विभिन्न शिक्षा पे्रमिहरुले बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षय कोष स्थापना गरेका हुन् ।
विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले १५ लाख १७ हजार बराबरको अक्षय कोष स्थापना गरेको बिद्यालयले जनाएको छ । विद्यालयको समग्र शैक्षिक गुणस्तर माथि उठाउन, विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न र विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न व्यक्तिहरुले अक्षय कोष स्थापना गरी सहयोग गरेको सिगाना माध्यामिक विद्यालयका प्रधानध्यापक गोपालकुमार शर्माले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्वपूर्ण भुमिका खेलेको शर्माको भनाई छ । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ,” प्रधानाध्यापक शर्माले भन्नुभयो “विद्यालयमा स्थापना गरिएका अक्षय कोषले कयौ विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याएको छ ।”

शर्माका अनुसार अक्षय कोषले विद्यार्थीलाई आर्थीक सहयोग समेत गर्दै आएको छ । जसका कारण विद्यार्थीलाई अध्ययन गर्न ठूलो सहयोग पुग्नेछ । विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षय कोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठन पाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । बिभिन्न समय र सन्दर्भ पारेर अक्षय कोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले सहयोग गर्ने क्रम बढे पछि विद्यार्थी र अभिभावक पनि उत्साहित देखिने गरेका छन् । अध्यक्ष खड्काका अनुसार, विद्यालयमा तीन हजारदेखि दुईलाख २२ हजारसम्मका अक्षयकोष स्थापना भएका छन् ।

विद्यालयलको शैक्षिक विकासका लागि स्वतस्र्फूत रुपमा पूर्व शिक्षक, समाजसेवी, शिक्षाप्रेमी लगायतले अक्षय कोष स्थापना गरी विद्यालयलाई सहयोग गरिएको छ । भौतिक पूर्वाधारमा सम्पन्न देखिने यस विद्यालमा बाल कक्षादेखि कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको छ । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि शिक्षाको गुणस्तर सुधारमा सक्रिय छन् । २०११ सालमा स्थापना भएको विद्यालयमा २०४५ सालदेखि हालसम्म ३१ अक्षय कोष स्थापना भएका हुन् । विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म ३२० विद्यार्थी अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *