कोरोना प्रभाव : एकै होटलको सयौं बुकिङ रद्द, चौपट बन्दै व्यवसाय

खेमराज गौतम
बागलुङ

जिल्लामा सबै भन्दा बढि चहल पहल हुने होटल पिस प्यालेस एक सातादेखि सुनसान छ । सभा, सम्मेलनका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने यस होटलमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सुससान भएको होटलका सञ्चालक निलेश राजभण्डारीले जानकारी दिनुभयो । जिल्ला होटल व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका राजभण्डारीले बागलुङ बजार रित्तिदै गएकाले सबै भन्दा बढि प्रभाव होटलहरुलाई परेको बताउनुभयो ।

जिल्ला सदरमुकाममा सञ्चालित ठूला तथा साना सबै होटल व्यवसाय कोरोना प्रभावका कारण बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीहरुले गुनासो गरेका छन् । ‘कोरोनाका कारण अहिले जिल्लाका सबैजसो होेटल व्यवसाय बन्द हुने अन्तिम चरणमा छन्’ राजभण्डारीले भन्नुभयो, ‘मेरै होटलमा दुई सय भन्दा बढि अग्रिम बुकिङ रद्द भएको छ, अन्य होटलहरुमा पनि पूर्व निर्धारित कार्यक्रम सबै रद्द भएका छन् ।’

आँफ्नै घरमा होटल व्यवसाय गरेका भन्दा भाडाको घरमा होटल व्यवसाय गर्दै आएका व्यवसायीलाई अझ बढि समस्या भएको होटल व्यवसायी बताउँछन् । होटलमा ग्राहकको अवस्था शुन्य प्रायः हुँदा होटल भाडा र काम गर्नेहरुलाई तलब दिन समेत नसकिने अवस्था सिर्जना भएको होटल आरतीका सञ्चालक कबिता बस्नेतले बताउनुभयो । ‘होटल व्यवसाय हप्ता दिन देखि ठप्प छ’ बस्नेतले भन्नुभयो, ‘कति समय यस्तो अवस्था आउने हो, यसले व्यवसाय धराशायी हुने भयोे ।’
कोराना प्रभावका कारण पर्यटकीय क्षेत्र मुस्ताङ जाने पर्यटकहरुको संख्यामा समेत उल्लेख्य कमी आएको छ । जसका कारण बागलुङमा ठुलो प्रभाव देखिएको होटल व्यवसायी एञ्जिल शाक्यले गुनासो गर्नुभयो । पर्यटकीय सिजन शुरु भएको बेला मुस्ताङ जाने तथा जिल्लाको ढोरपाटन जाने पर्यटकहरुले आफ्नो होटलमा अग्रिम बुकिङ गरे पनि सबै रद्द भएको होटल दि राजनका सञ्चालक शाक्यको भनाई छ । बागलुङ बजारमा रहेका एक दर्जन बढि ठूला तथा सुविधा सम्पन्न होटल यतिवेला बन्द हुने अवस्थामा पुगेका छन् ।

व्यवसाय चौपट हुने अवस्था आए पछि बैंक किस्तादेखि कुक र अन्य कर्मचारीलाई तलब खुवाउन, राज्यलाई कर तिर्न समेत नसक्ने अवस्था पैदा भएको छ । यस अवस्थामा राज्य र बैंकिङ संस्थाहरुले बिशेष राहत प्याकेज र कार्यक्रम ल्याउनु पर्ने उनीहरुले माग गरेका छन् ।
अब सरकारले कोरोनाका कारण उत्पन्न विश्वव्यापी संकटमा बिशेष कार्यक्रम नबनाए फेरी व्यवसायमा फर्कन कठिनाई हुने होटल शितल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कुंवर बताउँनुहुन्छ । यो राष्ट्रिय संकट र समस्याको घडीमा घर बाहल कर लगायतमा सरकारले बिशेष छुटको व्यवस्था गर्ने गरि योजना कार्यक्रम सार्वजनिक गर्नुपर्ने उहाँको भनाई छ ।

नेपाल सरकारले २५ जना भन्दा बटि एकै ठाउँमा जम्मा हुन रोक लगाए पछि होटल व्यवसायमा कार्यक्रम र आगमन हुने क्रम रोकिएको हो । आगामी सोमवारदेखि लामो दुरीको सवारी साधन समेत बन्द हुने भए पछि अब होटल बन्द गर्नुको बिकल्प नभएको निष्कर्षमा व्यवसायी पुगेका छन् ।

कोरोनाको कारण जिल्ला सदरमुकाममा डेरा गरी बस्ने र अध्ययन, अध्यापन गर्ने ठुलो संख्या अहिले धमाधम गाउँ फर्किएका छन् । बिभिन्न यात्रा, पेशा, व्यवसाय र कार्यक्रमका लागि जिल्ला आउनेहरु पनि कोरोना सन्त्रासका कारण कार्यक्रम स्थगन गरेर गाउँघर तिर जान थालेका छन् । अहिलेकै भयावह कायम रहे अबको केहि दिनमै बजार ठप्प र सुनसान हुने व्यवसायीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *