कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो, इटालीमा एकै दिन ६५१ को मृत्यु

काठमाडौ

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित इटालीमा एकै दिन ६५१ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो।

इटालीमा अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५९ हजार १ सय ३८ पुगेको छ। २४ घण्टा अवधिमा संक्रमण दर वृद्धिका हिसाबले भने अमेरिका अगाडि रहेको छ। अमेरिकामा एकैदिन ८ हजार ५ सय ७६ नयाँ संक्रमित देखिएका हुन्। अमेरिकामा हालसम्म ४ सय १६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३२ हजार ७ सय ८३ पुगेको छ।

कोरोना उत्पत्तिस्थल मानिएको चीनमा भने ४ दिनयता नयाँ संक्रमण देखिएको छैन भने मृत्यु पनि छैन। चीनमा कूल ८१ हजार ५४ जनामा संक्रमण देखिएको हो। तीमध्ये ७२ हजार ४ सय ४० जना निको भएका छन् भने ५ हजारभन्दा बढीको उपचार भइरहेको छ। 

कोरोनाबाट प्रभावित चौथो मुलुक स्पेनमा १ हजार ७ सय ५६ जनाको मृत्यु भएको। त्यहाँ २८ हजार ६ सय ३ जनामा संक्रमण देखिएको छ । यस्तै जर्मनीमा ९४, इरानमा १ हजार ६ सय ८५, फ्रान्समा ६ सय ७४, दक्षिण कोरियामा १ सय ४ जनाको मृत्यु भएको छ। 

जर्मनीमा २ जनाभन्दा बढी हिँड्न प्रतिबन्ध

यसैबीच, जर्मनीमा २ जनाभन्दा बढी मानिस हिँड्न प्रतिबन्ध लगाइएको छ। आइतबार टेलिभिजन सम्बोधन गर्दै जर्मनीमा चान्सलर एन्जेला मर्केलले संक्रमण दरलाई घटाउन हाम्रो आफ्ना बानी व्यवहार बढी प्रभावकारी तरिका रहेको बताइन्। यो प्रतिबन्ध अधिकांश व्यवसायमा पनि लागू हुने बताइएको छ। त्यहाँ अधिकांश पसल बन्दको घोषणा भइसकेको छ।

मर्केलले आफंैलाई क्वारेन्टाइनमा  राखेको घोषणा पनि गरेकी छन्। उनलाई न्युमोकोकसको खोप दिएका डाक्टरलाई कोरोना भएको पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेकी हुन्। ६५ वर्षीया मर्केलले अब घरैबाट काम गर्ने बताइएको छ। 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सरकारका सुझाव लागू गर्न आव्हान गर्दै अन्यथा अझ कडा प्रतिबन्ध घोषणा गर्ने चेतावनी दिएका छन्। बेलायतमा मृत्यु हुनेको संख्या २ सय ८१ पुगेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *