कोरोना रोक्न विदेशबाट फर्किएका खोज्दै,सचेत बनाउदै ढोरपाटन नगर

सुमन सुनार/बुर्तिबाङ

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी बागलुङको ढोरपाटन नगरपालिकाले विदेशबाट आएका नागरिकहरुको विवरण संकलन थालेको छ ।

ढोरपाटन नगर कार्यपालिका कार्यालय बुर्तिबाङमा बसेको जनप्रतिनिधि, कर्मचारी, चिकित्सक तथा सरोकारवालाको बैठकको निर्णय अनुसार विदेशबाट आएका व्यक्तिको बिवरण संकलन तिब्र बनाइएको छ ।

नगर स्तरका प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको पहिचान सहित तथ्यांक संकलन गरिरहेको नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । नगर प्रमुख नेपालीका अनुसार, हाल सम्म कोरोना भाइरस प्रभावित मुलुकहरु इन्डिया, कतार, दुबै, लगायतका देशबाट १८ जना नागरिक ढोरपाटन नगरपालिकामा आएको तथ्याङ्क छ । जस अन्तर्गत वडा नं. ३ मा २ जना, वडा नं. ४ मा १ जना र वडा नं. ५ मा १५ जना विदेशबाट आएको तथ्याङ्क संकलन भएको नगर प्रमुख नेपालीको भनाई छ । तथ्याङ्क संकलन कार्य जारी रहेकाले संख्यामा बृद्धि हुन सक्ने उहाँले बताउनुभयो । विदेशबाट घर फर्किएका नागरिकहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले उनिहरुलाई अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो ।

गत चैत ४ गते कतार एयरवेजबाट काठमाण्डौ अवतरण गरेकी १९ बर्षिया युवती कोरोना संक्रमित भएको पुष्टि भए पछि सोहि एयरवेजबाट काठमाडौँ आएका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका युवा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा छन् । उनीसँगै सेल्फ क्वारेन्टाइनमा रहेका विदेशबाट फर्किएका नागरिकहरुको स्वास्थ्य अवस्थाबारे निरन्तर सूचना संकलन भईरहेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डा. मिलन मल्लले बताउनुभयो । उनिहरुलाई कोरोना संक्रमणको लक्षण देखिने वित्तिकै प्रदेश तथा जिल्लाबाट विशेषज्ञ डाक्टरहरुको टोली परिक्षण तथा नमुना संकलनका लागि आउने डा. मल्लको भनाई छ ।

यसैबीच, नगरपालिकाले कोरोना भाईरस (कोभिड १९) संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) खरिद गरी उपलब्ध गराएको छ । संक्रमितको उपचारमा खटिने भएकाले चिकित्सक तथा नर्सहरु बढी जोखिममा भएकाले उनिहरुको सुरक्षाका लागि नगरपालिकाले पीपीई खरिद गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र्र सहित नगर स्तरका सबै स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *