कोरोना विरुद्धको अभियानमा आदर्श, २ पालिकालाई ५०/५० हजार

आदर्श अनलाईन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राष्ट्रिय सहकारी दिवसका लागि छुट्टयाएको १ लाख रुपैयाँ कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गरेको छ ।

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको १ लाख रुपैया मध्ये बागलुङ नगरपालिकाले सञ्चालन गरेको विपत, राहत, उद्धारकोष र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा ५०/५० हजार सहयोग गरेको हो ।

हरेक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवसका अवसरमा आदर्श सञ्चार सहकारीले सहकारी सचेतना लगायत रचनात्मक, सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुक नै लकडाउनमा रहेकाले यस वर्ष सहकारी दिवस औपचारिक रुपमा मनाउन नपाएपछि संस्थाले दिवसका लागि छुट्टयाएको रकम कोरोना विरुद्धको अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो ।

संस्थाको सञ्चालक समितिको बुधवार बसेको अनलाइन वैठकले बागलुङ नगरपालिकालाई ५० हजार र काठेखोला गाउँपालिकालाई ५० हजार सहयोग गर्ने निर्णय गरेको थियो । संस्थाले सहकारी दिवसका अवसरमा बागलुङ नगरपालिकाका विभिन्न वडामा ८ वटा र काठेखोला गाउँपालिकाका विभिन्न वडामा ७ वटा कार्यक्रम गर्ने योजना बनाएको थियो ।

कोरोना संक्रमणका कारण सबै कार्यक्रम स्थगित भएको संस्थाले जनाएको छ । राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीम विश्वकर्मालाई संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले चेक हस्तान्तरण गर्नु भएको हो ।

सहकारी दिवसका लागि छुट्टयाएको रकम सहकारीको सातौ सिद्धान्त अन्तर्गत समुदायको हितमा प्रयोग गर्नका लागि सहयोग गरिएको अध्यक्ष जिसीले बताउनुभयो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आदर्श सञ्चार सहकारी संस्थाले सूचना तथा सञ्चारसंगै आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र मुलुकमा देखिएको विषय परिस्थितिमा स्थानीय सरकारलाई सहयोग गरेर थप उत्साहित बनाएको बताउनुभयो ।

उहाँले नगरपालिकाले कोरोना नियन्त्रणका लागि आवश्यक कामका लागि सबै क्षेत्रको सहयोग र समन्वयको अपेक्षा गरेको भन्दै जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका सक्रिय रहेको बताउनुभयो । काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीम बहादुर विश्वकर्माले काठेखोला गाउँपालिकाले कोरोना नियन्त्रण तथा उपचारका लागि स्थानीय संघ संस्था, कार्यालय तथा व्यक्तिहरुसंग सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गरेको छ । संस्थामा हाल १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २२ करोड वचत र २४ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *