कोरोनाको प्रभावकारी उपचारका बिषयमा सांसद पौडेल र स्वास्थ्यकर्मी बीच छलफल

आदर्श अनलाइन, बागलुङ

बागलुङका संघीय सांसद देवेन्द्र पौडेलले धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिसँग पछिल्लो कोरोना संकट र समाधानका बिषयमा छलफल गरेका छन् ।

कोरोनाको बढ्दो जोखिम र बागलुङमा देखिएको संक्रमणलाई ध्यानमा राखेर प्रभावकारी उपचार, परीक्षण तथा अरु व्यवस्थापनका बिषयमा शुक्रबार छलफल भएको अस्पतालले जनाएको छ ।

छलफलका क्रममा तालिम प्राप्त जनशक्ति नहुँदा नमुना संकलन, बिरामी ओसार पोसारका लागि सवारी र जनशक्ति, आइसियू कक्ष नहुँदा कोरोना संक्रमितको उपचारमा आउन सक्ने सम्भावित जोखिम, थप बिशेषज्ञ डाक्टर र तालिम प्राप्त नर्सको आवश्यकता रहेको बताएका थिए । अस्पताल जोखिम मोलेरै भए पनि कोरोना संक्रमितको उपचारमा निरन्तर तत्पर रहेको तर गण्डकी प्रदेश सरकारले पोखरामा पनि संख्यात्मक अवस्था बढेको खण्डमा रिफर गर्ने बातावरण बनाउनु पर्नेमा उनीहरुको जोड थियो । ‘अहिलेको कठिन घडीमा सबैको साथ सहयोग हुनुपर्नेमा परीक्षण, उपचारका अतिरिक्त अरु जिम्मेवारी र व्यवस्थापन पनि अस्पताललाई नै थोपर्न खोजे जस्तो देखिन्छ,’ अस्पतालका निमित्त प्रमुख शैलेन्द्र बि पोखरेलले भने,‘हामी जिम्मेवारीबाट भाग्दैनौ, तर सबैको यथेष्ट सहयोग र समन्वयको जरुरी छ, सांसद, जनप्रतिनिधि, प्रहरी प्रशासनले त्यो भुमिका खेलिदिनुहोस् ।’

सांसद पौडेलले व्यवस्थापन समितिको कुशल नेतृत्व र स्वास्थ्यकर्मीको एकतावद्ध प्रयासबाट पछिल्लो समय धौलागिरी अस्पतालमा उल्लेख्य सुधार भएको भन्दै कोरोनाका कारण उत्पन्न संकटमा पनि प्रभावकारी हिसावले परीक्षण र उपचार गर्न आग्रह गरे । अहिलेको कठिन अवस्थामा पनि स्वास्थ्यकर्मीले फन्ट लाइनमा बसेर अविचलित प्रवाह गरेको स्वास्थ्य सेवा प्रशंसनीय भएको बताए । धौलागिरी अस्पतालमा आवश्यक जनशक्ति, आइसियू कक्ष नहुँदा हुन सक्ने समस्या र अन्य उपकरणका बिषयमा स्वास्थ्य मन्त्रालय र प्रदेशमा कुरा गर्ने उनले प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *