२५ औं स्थापना दिवसमा सहारा साकोसले गर्यो कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोग

आदर्श अनलाईन, बागलुङ
नेपालका सहकारीहरु मध्ये सबैभन्दा बढी शेयर सदस्य भएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको छ ।
१ लाख ४७ हजार जना शेयर सदस्य रहेको संस्थाले २५ औं स्थापना दिवसको अवसर पारेर शुक्रवारे राहत प्याकेज घोषणा गरेको हो ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला बिपद् ब्यवस्थापन समन्वय समितिहरु सँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाईनमा बसेका तथा बिपन्न परिवारहरुको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पीपीई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोष सहित ५० लाखको राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण मुलुकमा विद्यमान कठिन परिस्थितिमा सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारीहरु र समुदायको हितको लागि सहयोग गर्नु पर्ने दायित्व सम्झेर राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव गिरीले बताउनुभयो ।

सस्थाले घोषणा गरेको राहत प्याकेज अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारकोषमा ५ लाख, प्रदेश नं. १ सरकारसंगको सहकार्यमा आइसोलेसन अस्पतालमा खाद्यान्न ४ लाख, झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्नका लागि ११ लाख गर्ने संस्थाले जनाएको छ ।

यस्तै स्वास्थ्यकर्मी र प्रहरीलाई ४ लाख रुपैयाको पिपिई, भुटानी शरणार्थी शिविरका १ हजार परिवारलाई ६ लाखको खाद्यान्न र विपन्न परिवारका लागि खाद्यान्न तथा विपद कोषमा २० लाख रुपैया प्रदान गरिने कार्यकारी प्रमुख गिरीले जानकारी दिनुभयो ।

संस्थाका अति बिपन्न तथा लघुबित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा खर खाँचो टार्न ५ हजार रुपैयासम्म बिना ब्याजको सापटी रकम उपलब्ध गराउनका लागि संस्थाले ५ करोडको ब्यवस्था गरेको छ । ऋणि सदस्यहरुले चैत्र मसान्त भित्र बुझाउनु पर्ने किस्ता तथा ब्याज २०७७ बैशाख भित्र बुझाउन तथा हर्जना छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा १ लाख ४७ हजार जना शेयर सदस्य रहेका छन् । विगत २५ वर्षदेखि सदस्य र समुदायको हितमा काम गर्दै आएको सहारा नेपाल साकोसले १ अर्ब ३५ करोड शेयर रकम, ७ अर्ब वचत, ७ अर्ब ५० करोड ऋण लगानी सहित १० अर्बको कुल कारोबार गर्न सफल भएको छ । ६ जिल्लाका ६५ स्थानमा सेवा केन्द्र मार्फत संस्थाले ५ सय जनालाई रोजगारी प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *