बागलुङका सबै पालिकाद्वारा लकडाउनमा थप कडाई

बागलुङ बजारमा लकडाउनको बेवास्ता गर्ने क्रम बढेपछि आइतवार गस्तीमा निक्लिएको प्रहरी ।

सिर्जना पन्त,बागलुङ

कोरोना (कोभिड १९) को जोखिम बढ्दै गएपछि बागलुङका स्थानीय तहमा प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबार नेपालमा थप तीन जना संक्रमित भेटिए सँगै जिल्लाका स्थानीय तह प्रवेश गर्ने नाकामा चेक जाँचलाई कडा पारिएको हो ।

जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टी हुँदा पनि नागरिक सचेत नभएको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखको सक्रियतामा सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैजुले जानकारी दिनुभयो । ‘यस अघि सदरमुकाममा लकडाउनलाई कडा गरिए पनि गाउँ गाउँमा मानिसहरु चहलपहल कम भएको थिएन’, शैजुले भन्नुभयो ‘कोरोनाको त्रास बढ्दा पनि नागरिकहरु सचेत नदेखिएपछि गाउँ गाउँमा समेत प्रहरी परिचालन गरिएको छ ।’

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले एक स्थानीय तहदेखि अर्काे स्थानीय तहमा संक्रमण नफैलियोस् भनेर सरकारले गरेको निर्णय सबैले पालना गनुपर्ने भन्दै बागलुङ नगरपालिकामा लकडाउनलाई कडाइ गरिएको बताउनुभयो । ‘जिल्ला प्रवेश गर्ने नाकामा पहिले देखिनै कडाई थियो, पौडेलले भन्नुभयो,‘अब घरबाट बाहिर ननिस्कनुस् भनेर प्रहरी परिचालन गरिएको छ ।’

बागलुङको ढोरपाटन नगरपलिकाका मेयर देवकुमार नेपालीले ढोरपाटन नगरपालिकामा अन्य पालिकाबाट कसैलाई पनि प्रवेश गर्न नदिने बताउनुभयो । ‘देश लकडाउन गरे पनि जनताले पालना गरेको देखिएन’, नेपालीले भन्नुभयो ‘अब हामीले हाम्रो नगर लकडाउन गरेका छौ, आजैदेखि ढोरपाटनमा अन्य पालिकाका व्यक्तिलाई प्रवेश गर्न रोक लगाइएको छ ।’ ढोरपाटन प्रवेश गर्ने नाकामा तारबार गरिदैछ, नेपालीले भन्नुभयो ‘मेरो नगरमा खाद्यान्न, स्वास्थ्य र सबै आवश्यकता पुरा गर्नको लागि म तयार छु, त्यसैले अब नगरमा कसैलाई प्रवेश दिईदैन ।’

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले गुल्मीबाट जैमिनी प्रवेश गर्ने नाका छिस्तीमा हेल्थ डेक्स सहित प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो । विरामी, दुध र खाद्यान्न बोकेका सवारी साधन बाहेक अन्यलाई नगर प्रवेशमा रोक लगाईएको उहाँले बताउनुभयो । अनावश्यक चहल पहल हुने र भीडभाड हुने झोलुङ्गे पुलमा बार लगाईएको उहाँले बताउनुभयो ।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्माले गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको प्रवेशद्वार घोडाबाधेमा स्वमसेवक परिचालन गरेको बताउनुभयो । सेना संग सहकार्य गरेर पैदल यात्रा गर्नेहरुको पनि अनिवार्य रुपमा परिचय खुल्ने काजगात राखी प्रवेश गर्ने प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । खर्वाङ र गुल्मीको मुसिकोटबाट प्रवेश गर्ने नाकामा प्रहरी राखेर पूर्ण रुपमा आवत जावत बन्द गरिएको उहाँले बताउनुभयो ।

बागलुङको ताराखोला गाउँपालिकाका तीन वटा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको गाउँपालिका प्रमुख प्रकाश घर्तीले बताउनुभयो । गलकोट हुदै प्रवेश गर्ने नाकाको लागि गाउँपालिकाको ३ नम्बर वडा, काठेखोला गाउँपालिकाबाट आउने अमरभुमी, माझखर्क प्रवेश गर्ने नाकाको लागि धनसिंह चोकमा हेल्थ डेक्स संगै सुरक्षाकर्मी परिचालन गरिएको घर्तीले बताउनुभयो । म्याग्दी हुँदै ताराखोला प्रवेश गर्ने नाकामा पनि सुरक्षाकर्मी संगै जनप्रतिनिधी परिचालन गरिएको छ ।

तमानखोला गाउँपालिका र म्याग्दीको नाका सोलेडाँडामा सशस्त्र प्रहरीले कडाईका साथ चेकजाँच गरेर आवत जावतमा रोक लगाएको गाउँपालिका प्रमुख जोकलाल बुढाले बताउनुभयो । उहाँले ढोरपाटन नगरपालिकाबाट प्रवेश गर्ने स्थानमा पनि बोङ्गादोभान प्रहरीले निगरानी बढाएको बताउनुभयो ।

काठेखोला गाउँपालिका प्रमुख अमर थापाले गाउँ गाउँका टोल सुधार समितिलाई परिचालन गरेर गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा कडाई गरिएको उहाँले बताउनुभयो । ‘मुख्य नाकामा प्रहरीसंग सहकार्य गरेर अति आवश्यक बाहेकका आवत जावतमा रोक लगाएका छौ’, थापाले भन्नुभयो ‘वडावडामा पनि टोल सुधार समिति र युवा क्लबका सदस्यलाई परिचालन गरेर प्रवेश रोक लगाएका छौ ।’

बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले भिमगिठे, ग्वालीचौर र खर्वाङको प्रहरीसंग सहकार्य गरेर बुटवल, गुल्मी र गलकोटका विभिन्न नाकामा प्रवेश रोक लगाईएको बताउनुभयो । ‘हामीहरुको मात्र प्रयासले हुँदो रहेनछ, गाउँमा जीप भरि मान्छे आउछन्, सोध्यो पास देखाउँछन्’, पाइजाले भन्नुभयो ‘सिडियो एसपीले हामीले पास दिएका होइनौ भन्नुहुन्छ, गाउँमा मनपरि देखिएको छ ।’

बागलुङको बरेङ गाउँपालिका प्रमुख कृष्ण पौडेलले गाउँपालिकामा गुल्मी र बागलुङका विभिन्न ५ वटा नाकामा तारबार गरिएको बताउनुभयो । अति आवश्यक परे खोल्न मिल्ने गरि गुल्मीको शान्तिपुर प्रवेश गर्ने घट्टे नाका, गुल्मीको कालिगण्डकी प्रवेश गर्ने सातदोबाटो नाका, नाम्दुक नाका, गलकोट नगरपालिका प्रवेश गर्ने देउराली र गुल्मीको शान्तिपुर जोडने पहेलपाटा नाकामा तारबार गरिएको बताउनुभयो । ‘दैनिक ज्याला दिने गरि तीन जनालाई प्रहरी संगै नाकामा खटाएका छौ’ पौडेलले भन्नुभयो ‘गाउँपालिकामा जो कोहिलाई पनि प्रवेश गर्न रोक लगाईएको छ ।’ उहाँले गाउँपालिकामा कसैको निधन भएमा तीन दिनमा उम्कने गरि व्यवस्थापन गरिएको बताउनुभयो ।

निसिखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलले सरकारले हिजोमात्र स्थानीय तह स्तरिय लकडाउनको व्यवस्था गरेको भए पनि आफु अहिले सम्म वडा अध्यक्षहरु संग भेटघाट हुन नसकेको भन्दै निर्णय गर्न नसकेको बताउनुभयो । ‘सबै टाढा टाढा हुनुहुन्छ, वडा अध्यक्षसंग भेट हुन पाएको छैन, भेटघाट पछि के गर्ने भनेर सल्लाह गर्नेछौं’ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *