कोरोना संक्रमण रोक्न ढोरपाटनमा किटनाशक औषधी छर्कन शुरु

सुमन सुनार/बुर्तिबाङ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न ढोरपाटन नगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरु गरेको छ ।

नगरपालिकाले बढी भीडभाड हुने स्थल तथा सवारी साधनहरुमा किटनाशक औषधी छर्कन शुरु गरेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो । नेपालीका अनुसार, नगरक्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने छ । कोरोना संक्रमणको संभावित जोखिमबाट बच्न सवारी साधनमा पनि औषधी छरिने छ । पहिलो चरणमा आर.एच. फाईभ नामक किटनाशक औषधी ४० लिटर खरीद गरी छर्किन थालिएको नगर प्रमुख नेपालीको भनाई छ ।

नागरिकहरुलाई औषधीबाट पर्न सक्ने असरबाट बचाउन, साँझको समयमा औषधी छर्ने काम भएको ढोरपाटन नगर कार्यपालिका कार्यालयका स्वास्थ्य संयोजक घनश्याम चालिसेले बताउनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १ लिटर औषधी बराबर २ सय लिटर पानी मिसाएर औषधी छर्किएको चालिसेले बताउनुभयो । विहिबार साँझ बुर्तिबाङ बजारको सिमसार देखि बसपार्क हुँदै दुले सम्म छर्किएको र आज साँझ बाँकी रहेका स्थानहरुमा छर्किने जनाइएको छ । त्यसैगरी नगरपालिकाका सबै वडामा आवश्यकता अनुसार खरीद गरी भिडभाड हुने स्थानमा किट्नासक औषधी छर्किने नगरपालिकाले जनाएको छ ।

जारी लकडाउनको पूर्ण पालना गर्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *