गायक सपुतद्धारा तीनै तहको कोरोना कोषमा दुई लाख सहयोग

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय गायक तथा चलचित्र प्रदेश २ बाट नायकको नयाँ परिचय बनाउदै गरेका प्रकाश सपुतले कोरोना संकटका लागि घोषणा गरेको दुई लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

गायक सपुतले लकडाउन घोषणाको सम्मुखमा कोरोनाका कारण बढि प्रभावित हुने श्रमिक मजदुरले झेल्नुपर्ने सम्भावित कठिनाईलाई ध्यानमा राखेर प्रधानमन्त्रीका नाममा पत्र लेख्दै नेपाल पत्रकार महासंघ बागलुङलाई तत्काल सहजिकरणका लागि चेक हस्तान्तरण गरेका थिए ।

त्यसको केहि दिनमै नेपाल सरकारले राहत सहयोगमा एकद्वार प्रणाली लागु गरेकाले छुट्टै राहत सहयोग गर्न नमिल्ने अवस्थामा नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण, राहत तथा उपचार कोषमा १ लाख, गण्डकी प्रदेश सरकारको कोषमा ५० हजार, काठेखोला गाउँपालिकाको कोरोना कोषमा ३० हजार जम्मा गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापाले बताए । यस बाहेकको बाँकी ३५ हजार रुपैयाँ पत्रकार महासंघमै कोरोना संकटमा भैपरी आउने जटिलतामा सहयोग गर्ने गरी कोषको रुपमा राखिएको छ । गायक सपुत गण्डकी प्रदेश सरकारको पर्यटन दुत समेत हुन् भने काठेखोला गाउँपालिका उनको जन्म गाउँ हो ।

तस्बिरः गायक सपुतले नेपाल सरकार र गण्डकी प्रदेश सरकारको कोरोना कोषमा रकम जम्मा गरेको भौचर ।

कोरोनाका कारण समाज र देशले भोग्ने सम्भावित संकटमा एक कलाकारका रुपमा गर्न सक्ने सानो योगदान आँफुले गरेको गायक सपुतले बताए । ‘जटिल दैनिकी भोग्ने श्रमिक, मजदुरको सम्भावित कठिनाइले मलाई बढि छोइरहेको थियो’ सपुतले भने, ‘फ्रन्ट लाइनमै बसेर केहि गर्न सक्ने अवस्थामा हामी छैनौ, त्यसैले एक कलाकारका हिसावले गर्न सकिने दायित्व मात्र निर्वाह गर्ने प्रयास गरेको हु, यो सहयोग सरकार मार्फत तीनै अभावग्रस्त दैनिकीमा रहनेहरुलाई पुगोस् भन्ने चाहना छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *