कोरोना कहर:१२ सय मुस्ताङी जिल्ला भित्रिए,क्वारेन्टाइन रित्तै

एसके थकाली,जोमसोम

कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण अलपत्र परेका मुस्ताङी धमाधम घर फर्किन थालेका छन् ।

म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र घासा प्रहरी चेक पोष्टले दिएको जानकारी अनुसार मंगलबार बिहानसम्म १२ सय ३ जना मुस्ताङी जिल्ला फर्किएका हुन् । जसमध्ये चालकको संख्या ८३ जना छ ।

दुई दिन सरकारले लकडाउन केही खुकुलो पारेको थियो भने जिल्ला स्तरीय बैठकमा समेत सांसद , स्थानीय तह ,प्रशासन र सुरक्षा निकायबीच अलपत्र मुस्ताङीलाई उद्दार गर्ने सहमति भएको थियो । स्थानीय तहको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ,पालिका ,वडा र गाउँमुखियाको रोहबर जिल्ला फर्किनेको सूची संकलन गरी स्थानीय प्रशासनलाई बुझाएपछि उद्दारकार्य सुरु भएको थियो ।

लकडाउनको अवस्थामा जिल्ला फर्किने संख्या बढ्न सक्ने जनाइएको छ ।पछिल्लो प्राप्त जानकारी अनुसार पोखरा र काठमाडौंबाट थप ५ बस मुस्ताङी जिल्ला आउँदै गरेको घासा प्रहरी चेक पोष्टले जनाएको छ ।

चेक पोष्टले जनाएअनुसार ३ दिनको फेरोमा ३४ वटा बस ,जीप १५ ,ट्याक्सी १ ,एम्बुलेन्स १ र मोटरसाइकल ५ वटा मुस्ताङ भित्रिएको हो । जसमा ६ सय ९९ पुरुष र ५ सय ७ जना महिला छन् । बाटोमा आउँदै गरेको थप बसमा करिव १ सय २० जना मुस्ताङी रहेको चेक पोष्टले जनाएको छ ।

सरकारले सोमबारदेखि लकडाउन कडाइ गर्न ७७ वटै जिल्लालाई परिपत्र पठाए पनि पोखरा र काठमाडौंलगायतका स्थानबाट हिँडेका मुस्ताङीलाई जिल्ला फर्काउन स्थानीय प्रशासनले सहजीकरण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।

जिल्ला फर्किएकालाई भित्र्याएर नाका शिल गर्ने योजना रहेको प्रजिअ वेदप्रकास अर्यालले जानकारी दिए । बुधबारदेखि अतिआवश्यकीय सेवा बाहेक नाकामा आउजाउलाई कडाइ गर्ने प्रजिअ अर्यालले बताए ।

यता ,मुस्ताङ फर्किएका सबैलाई जिल्लाका स्थानीय तहले सरकारी क्वारेन्टाइनमा नराखी घर घरमा पठाएको छ ।केही स्थानीय तहले समाजघर ,गुम्बा स्कुल र सामुदायिक स्कुलमा राखेको पाइएको छ । जिल्ला फर्किनेलाई क्वारेन्टाइनमा नराखी घरघर पठाएपछि पालिकाले व्यवस्था गरेको सरकारी क्वारेन्टाइन रित्तै छन्।

स्थानीय तह र विभिन्न गाउँसमाजले लाखौं रुपैयाँ खर्चिएर क्वारेन्टाइन निर्माण गरेपनि जिल्ला आउनेलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको थियो । नयाँ अनुहारलाई होम क्वारेन्टाइनमा बस्न लगाएपछि जिल्ला रहेका सर्वसाधारणलाई कोरोना त्रास बढेको हो ।

स्थानीय तहले क्वारेन्टाइन क्षमता कम भएको जनाउँदै जिल्ला फर्किएकालाई घर घरमा पठाएको हो । घर फर्किएकाको स्थानीय गाउँ मुखिया कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ,लगायतकाले अनुगमन गर्ने भनिए पनि अनुगमन फितलो भएको नाम नबताउने शर्तमा उपल्लो मुस्ताङका एक युवाले जानकारी दिए ।

सरकारी मापदण्डअनुसार एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्नेलाई अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान बनाइ पनि स्थानीय तहले नियम मिचेर ७ दिन मात्रै होम क्वारेन्टाइनमा बस्न लगाएका हुन् । होम क्वारेन्टाइनमा राखिएपछि स्वास्थ्य परीक्षण तथा होम क्वारेन्टाइन निगरानी गर्न अप्ठ्यारो पर्ने ती युवाले बताए ।

स्थानीय प्रशासनले गाउँ मुखिया ,जनप्रतिनिधि र नेपाली सेना ,सशस्त्र र नोपली प्रहरीले अनुगमन गर्ने र नियम उलंघन गरे क्वारेन्टाइनमा राख्ने बताएको थियो । होम क्वारेन्टाइनमा राख्ने शर्तमा जिल्ला ल्याइएका केही व्यक्ति खुलेआम गाउँ घुमफिर गर्न थालेको जनाइएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न मुस्ताङका ५ वटै गाउँपालिका १६ स्थानमा ९६ बेडको क्वारेन्टाइन बनेको थियो भने थासाङको लेते र जोमसोममा ८ बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *