नयाँ नक्सा पारित भएको खुशियालीमा बागलुङमा दीपावली

आदर्श अनलाइन,बागलुङ

सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको खुशियालीमा बागलुङमा दीपावली गरिएको छ ।

प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित गरेको हो ।

अहिले सम्म नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किमि पढ्दै आएकोमा निशान छाप सहितको नयाँ नक्सा पारित सँगै अब १ लाख ४७ हजार ५ सय १६ बर्ग किमि कुल क्षेत्रफल भएको छ ।

नेपालको खोसिएको भुगोल फिर्ता ल्याउने ऐतिहासिक निर्णय भएको खुशियालीमा नगरपालिकाको आयोजनामा दीप प्रज्वलन गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । ‘देशले अभूतपूर्व एकताका साथ नयाँ नक्सा पारित गरेको छ,’ मेयर पौडेलले भने, ‘अब साँच्चिकी भारतले मिचेको भूमी फिर्ता ल्याउन बाटो खुलेको छ, यो देशवासीकै लागि ऐतिहासिक निर्णय र खुशीको बिषय हो ।’ गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, उपप्रमुख बिष्णु भुषाल, प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु लगायतले दिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।

संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ ।

संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची-३ मा नेपालको निशान छाप रहेको छ। उक्त निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन। सरकारले उक्त क्षेत्रहरु समेटेर गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो।

लगत्तै सरकारले जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो। सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्।

अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *