कोरोना मैत्री बजेट ल्याउदै बागलुङका स्थानीय तह


–एसके गौतम, बागलुङ

कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व आक्रान्त छ । नेपालमा कोरोना भाइरस नियन्त्रण तथा उपचारहरुको प्रयास भइरहदा समेत दिन प्रतिदिन तिब्र गतिमा कोरोना संक्रमणको दर बढ्दो छ ।

संघीय सरकार तथा प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०७७÷७८को बजेट सार्वजनिक गरेपछि अहिले स्थानीयतहले बजेट नीति तथा कार्यक्रम निर्माणमा व्यस्त रहेका छन् ।

बागलुङ जिल्लाका १० स्थानीय तहले आगमी वर्ष कोरोना रोकथाम, नियन्त्रण तथा गुमेको रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगमी वर्षको बजेटमा कोरोना नियन्त्रण तथा रोकथामका लागि रु एक करोढ बढीको बजेट ल्याउन थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो । “आगमी वर्ष शिक्षा, कृषि तथा स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर बजेट निर्माणमा जुटेका छौं” थापाले भन्नुभयो “विकास निर्माणको बजेट घटाएर कोरोना नियन्त्रण तथा रोकथामका लागि बजेट ल्याउने तयारीमा छौं ।” गाउँपालिकाले कोरोना मैत्री कार्यक्रम, सरसफाई, सचेतना लगायतका कार्यक्रम समेत ल्याउने तयारीमा रहेको छ । हरेक बजेट तथा कार्यक्रमलाई कोरोना संग जोडेर ल्याउन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

अन्य बजेट तथा कार्यक्रममा समेत कोरोनालाई मध्यनजर गरी विभिन्न कार्यक्रम सार्वजनिक गर्न थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । करिब रु.४३ करोडको बजेट ल्याउन थालेको काठेखोलाले रु. एक करोड देखि डेढ करोड सम्मको बजेट कोरोनालाई छुट्टाउन थालेको छ । चालु आर्थिक वर्षका तालिम, क्षमता विकास लगायतका भीडभाड हुँनेखालका कार्यक्रम रद्द गरेर कोरोना नियन्त्रणमा खर्च गर्र्दै आएको गाउँपालिकाले विकास बजेट घटाएर कोरोनालाई प्राथमिकता दिन थालेको हो ।

जिल्लाको सबैभन्दा बढी बजेट ल्याउने बागलुङ नगरपालिकाले आगमी बर्षका लागि ल्याउने झण्डै एक अर्बको बजेटमा रु. १० करोड बजेट कोरोना शिर्षकमा हुँने जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा रु. साढे दुई करोड बजेट ल्याउन थालेको बागलुङ नगरपालिकाले, अन्य बजेट भने कोरोनाका कारण रोजगारी गुमाएकालाई स्वरोजगार गराउने, नगरपालिका जमानी बसेर ऋण सहायता गर्ने लगायतका कोरोना मैत्री कार्यक्रम ल्याउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“धेरै नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ” पौडेलले भन्नुभयो “गुमेको रोजगारी सृजना गर्ने गरी नगरपालिकाले बिना धितो ऋण उपलव्ध गराएर स्वरोजगार गर्ने नीति रहेको छ ।” यस्तै स्वास्थ्य सामाग्री खरिद गर्ने, कोरोना उपचार तथा रोकथाममा खट्नेलाई विशेष प्याकेज जस्ता कार्यक्रम सार्वजनिक गर्ने नगरपालिकाको योजना रहेको छ ।

यस्तै जिल्लाको ताराखोला गाउँपालिकाले अन्य बजेट कटाएर भएपनि कोरोनालाई प्राथमिकता दिएर बजेट निर्माणमा जुटेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । कोरोना संक्रमण बढ्दै गएका कारण स्थानीय तहलाई क्वारेन्टिन तथा आइशोलेसन व्यवस्थापनमा समस्या हुँन थालेपछि आगमी बजेटमा कोरोनालाई बढी प्राथमिकता दिएर बजेट निर्माणमा जिल्लाका स्थानीय तहहरु लागि परेका हुन् । संक्रमण बढ्दै जादा स्थानीय तहमै आइशोलेसन निर्माण गर्नुपर्ने, सरसफाई, कोरोनाबाट बच्ने उपाय लगायतका कार्यक्रम समावेश गरी बजेट ल्याउने तयारीमा जिल्लाका स्थानीय तहहरु जुटेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाममा बजेट अभावले सताएको भन्दै स्थानीय तहले आगमी वर्षमा ढुक्कले खर्च गर्न सक्ने बजेट ल्याउने तयारीमा स्थानीयतह अग्रसर भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *