बागमती प्रदेशमा एकै दिन ३ वटा प्रदेश सहकारी संघ दर्ता

आदर्श अनलाइन, बागलुङ

सहकारी ऐन २०७४ को प्रावधान अनुसार सात वटै प्रदेशमा सहकारीहरुका प्रदेश सहकारी संघहरु गठन प्रक्रिया अगाडि बढेको छ । संघीय संरचना अनुसार बागमती प्रदेशमा बुधवार एकै दिन ३ वटा प्रदेश सहकारी संघ दर्ता भएका छन् ।

प्रदेशभरीका सहकारी संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको बागमती प्रदेश सहकारी संघ लिमिटेड, प्रदेशका वचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ लिमिटेड र प्रदेशका कृषि सहकारी संस्थाहरुको छाता संगठन बामगती प्रदेश कृषि सहकारी संघ लिमिटेड एकै दिन दर्ता भएका हुन् ।

प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका तीन वटै प्रदेश सहकारी संघलाई बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी दर्ता प्रमाणपत्र प्रदान गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश वचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा र बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठकलाई दर्ता प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पौडेलले अर्थतन्त्रको एउटा आधारशिला सहकारी क्षेत्रलाई सवल र सक्षम बनाउनका लागि तीन वटै प्रदेश सहकारी संघहरुको भूमिका महत्वपूर्ण र प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश भरीका सहकारीहरुसंग रहेको पूँजिलाई उत्पादन, प्रशोधन र बजारीकरणमा परिचालन गरी जनताको आयस्तरमा सुधार ल्याउन संघहरुसंग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । सहकारी अभियानमा बहुसंख्यक जनताको सहभागिता रहेकोले उनीहरुलाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा जागरुक बनाउन सहकारीको भूमिका बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेशका सहकारीहरुको क्षमता विकास गरी व्यवसायिक रुपमा अगाडि बढाउनका लागि प्रदेश सहकारी संघहरु र मन्त्रालयबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले संघीय संरचना पछि पहिलो पटक बागमती प्रदेशमा सहकारी संघहरुको दर्ता प्रक्रिया सम्पन्न भएको भन्दै अभियानलाई थप प्रभावकारी बनाउन बागमती प्रदेशका सहकारी संघहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीको संरचना अनुसार सात वटै प्रदेशमा प्रदेश सहकारी संघ र विषयगत सहकारी संघहरु गठन प्रक्रिया अगाडि बढेको समेत जानकारी गराउनुभयो ।

प्रमाणपत्र वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव मान बहादुर विक, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकाल, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेती, महासंघका सञ्चालक तथा नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम बहादुर पाठक, महासंघका सञ्चालक टेकप्रसाद चौलागाई, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कार्कीको अध्यक्षता, प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेको सञ्चालन र राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष नारायण देवकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

प्रदेशमा सञ्चालित सबै प्रकारका सहकारी संघ संस्थाहरुको संस्थागत विकास, सहकारीका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकाससंगै सहकारी अभियानलाई थप प्रभावकारी र सक्षम बनाउनका लागि आफुहरु प्रतिवद्ध रहेको तीन वटै संघका अध्यक्षहरुले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *