निसीखोला गाउँपालिका–५ आफ्नै भवनमा

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ को कार्यालय आफ्नै भवनबाट काम सुरु गरेको छ ।

भवन निर्माणका लागि जग्गा नपाइँदा लामो समयदेखि रोकिएको थियो । स्थानीय चुडाबहादुर घर्ती मगरले भवन बनाउनको लागि जग्गा प्रदान गरेपछि वडा कार्यालय निर्माण गर्न सफल भएको वडा अध्यक्ष हर्कमान घर्ती मगरले बताउनुभयो ।

‘हामी निर्वाचित भएर आएदेखिनै भवन बनाउनको लागि प्रयासरत थियौँ, लामो समय जग्गा पाउन सकिएन,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘जग्गा नहुुँदा भाडा तिरेरै कार्यालय संचालन गर्दै आएका थियौँ, सेवा प्रदान गर्न केही असहज भएको थियो, अब सहज हुने छ ।’

गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा विनियोजन गर्दै आएको ४२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष घर्ती मगरको भनाई छ । निसीको पुतली बजारबाट संचालन हुँदै आएको कार्यालय नयाँ भवन निर्माण भएपछि ढाँडबाट सेवा सुरु भएको छ ।

कार्यालयबाटै सेवा सुरु गरे पनि अन्य व्यवस्थापन भने भइरहेको अध्यक्ष घर्ती मगरको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *