रक्तदान अन्य सेवा भन्दा ठूलो सेवा: युवा परिषदका उपाध्यक्ष ढुङ्गेल

आदर्श अनलाइन, बागलुङ

राष्टिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले रक्तदान अन्य सेवा भन्दा ठूलो सेवा रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भर्चुअल चौथो साधारणलाई सम्बोधन गर्दै उपाध्यक्ष ढुङ्गेलले रक्तदानले जीवनदान दिन सक्ने भन्दै सेवा संगै परोपकार र धर्म समेत भएको बताउनुभयो । उहाँले संघले गरेको कार्यले सबैलाई उत्प्रेरणा दिने र रक्तदान मार्फत गरेको सेवा अन्य कुनै पनि सेवा भन्दा महत्वोपुर्ण रहेको बताउनुभयो । साथै उहाँले युवा परिषद बिदेशबाट फर्कने ५० बर्ष सम्मका ब्यक्तिलाई युवा मानेर उहाँहरुको उद्यममा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफुलाई गर्व महसुस भएको भन्दै भन्दै रक्तदाता संघलाई धन्यवाद दिनुभयो । उहाँले गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ संग निरन्तर सहकार्य गर्दै अगाडी बढने बताउनुभयो ।

सो कार्यक्रममा नेपाली रक्तसञ्चार केन्द्रका निर्देशक डा.मनिता राज कर्णिकार, रक्तदाता संघ नेपाल (ब्लोदान) अध्यक्ष इन्जिनियर सानू बाबु प्रजापति, रक्तदाता संघ अमेरिकाका अध्यक्ष डा.लिला राज दाहाल, युएनको फुड प्रोग्राम अन्तरगत बङ्गलादेशमा कार्यरत विषेशज्ञ मञ्जु कर्माचार्य लगाएतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको अध्यक्षता सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष एभरेष्ट गौतमले स्वागत सहित संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम उपाध्यक्ष बिनोद भट्टराईको सञ्चालनमा सम्पन्न भएको रक्तदाता संघ कतारका सचिव सन्तोष क्षत्रीले जानकारी दिनुभयो ।

सन् २०१४ मा अमेरिका दर्ता भै शुरु भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ हाल २५ भन्दा बढी देशमा सक्रिय रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *