बागलुङमा बृक्षारोपण सहित मनाइयो सामुदायिक वन दिवस

आदर्श अनलाइन, बागलुङ

सामुदायिक वन दिवसको अवसरमा बागलुङमा वृक्षारोपण गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बागलुङ र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका–१ रामरेखा स्थित लामो झोलुङ्गे पुल नजिकै सामुदायिक वन परिसरमा वृक्षारोपण गरिएको थियो ।

रामरेखा सामुदायिक वन उपभोक्ता समितिको भवन नजिकै करिव ५० वटा धुपी सल्ला, विभिन्न प्रकारका फूल लगायतका बिरुवा लगाइएको थियो ।

दिवसका अवसरमा आयोजित बृक्षारोपण पछि बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सामुदायिक बनको संरक्षण र उपयोग दुवैमा ध्यान केन्द्रित गर्न सके समुदायले धेरै लाभ लिन सक्ने बताउनुभयो । सामुदायिक वनलाई पर्यटन र समृद्धिसँग जोड्न आवश्यक रहेको भन्दै स्थानीय सरकारको रुपमा नगरपालिका आवश्यक सहयोग, समन्वय गर्न सहयोग तयार रहेको नगर प्रमुख पौडेलको भनाई थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय बागलुङका प्रमुख रोमराज लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य प्रेम लामिछानेले सामुदायिक वनलाई अधिकतम उपयोग गरेर आयआर्जन गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय बिरुवा लगाउने तर संरक्षणमा यथेष्ट ध्यान नपुगेकाले त्यसको बिषयमा समेत सकरात्मक सन्देश प्रवाह गर्ने गरी दिवस मनाइएको सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाले बताउनुभयो । यस जिल्लामा ५२० वटा सामुदायिक वन रहेका छन् ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाको अध्यक्षता, रामरेखा सामुदायिक वन उपभोक्ता समितिका सचिव तारक बहादुर केसीको स्वागत मन्तव्य र सचिव मुना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *