म्याग्दीमा उच्च सर्तकता: एउटा नाका मात्र खुला

आदर्श अनलाइन, म्याग्दी
कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

म्याग्दी प्रवेश गर्ने सबै नाकामा सुरक्षा चेकजाँचलाई कडाइ गर्नुका साथै मङ्गलबार रातिदेखि सिल गरिएको छ । अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुलस्थित एउटा नाकालाई मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । एउटा मात्र नाकाबाट आवतजावत गर्न पाएपछि बेनी प्रवेश गर्ने कालीपुल नाकामा सर्वसाधारणको भीड लाग्ने गरेको छ । बेनीसंगै सीमाना जोडिएका पर्वतको जलजजा गाउँपालिकाका जनताको आउजाउ हुने र दैनिकीसंग प्रत्यक्ष सरोकार रहने यस नाकामा कडाइ गरिएपछि विशेष गरेर मल्लाज, पारीबेनी, मिलनचोक, धाइरिङबाट दैनिकरुपमा बेनीमा आउने, कर्मचारी, व्यापारी, कृषकलगायत सर्वसाधारण मर्कामा परेको बताइएको छ ।

कालीपुल नाकामा कडाइ गरिएपछि पर्वतबाट उपचारका लागि बेनी अस्पतालमा आउने बिरामीलाई निकै सास्ती भएको मिलनचोकका श्याम आचार्यले बताउनुभयो । त्यहाँ खटिएका सुरक्षाकर्मीले सर्वसाधरणलाई सम्झाईबुझाई वारपार गर्न दिएका छन् । बुधबार एक जना सर्वसाधारण कालिपुलमा लाइनमा नै बेहोस हुँदा उपचारका लागि प्रहरीले उनलाई बेनी अस्पतालमा पुर्याएको थियो ।

“म कार्यालय जानका लागि आएको हुँ”, एक जनाले भन्नुभयो, “यहाँँ आएर तीन घण्टादेखि लाइनमा बसेको छु । यसले मजस्तै अन्यलाई पनि कार्यालय आवतजावत गर्न निकै सास्ती भएको छ ।” पर्वत बेनी र म्याग्दी बेनीविच आवतजावतमा सहजता हुनुपर्ने उनीहरुको माग छ । व्यवसायिक काम, बैकिङ्ग कारोबारलगायत अन्य विभिन्न कामका लागि पर्वत बेनीवासीलाई म्याग्दी बेनीमा आउनुपर्ने बाध्यता छ । उक्त बाध्यतालाई मध्यनजर गरेर आवतजावतलाई सहज बनाउनुपर्ने धारणा उनीहरुको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कसैलाई दुःख दिने मनसायले नभै कोभिड-१९को उच्च जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको बताउनुभयो । उहाँले पारीबेनी र दैनिक रुपमा आउजाउ गर्नुपर्ने कर्मचारी, व्यापारीलगायत उपचारका लागि बेनी अस्पताल आउनेलाई सहज वातावरण बनाइएको जानकारी दिनुभयो । बुधबार पोखराबाट आएका दुई जनालाई स्थानीय तहको समन्वयमा क्वारेन्टिनमा राखिएको प्रजिअ अधिकारीको भनाइ छ ।

हिजोमात्र कालिपुल नाकाबाट १ सय ६१ जना म्याग्दी बेनी प्रवेश गरेका छन् । कालिपुल नाका हुदै म्याग्दी बेनीमा व्यवसाय गर्न आउने व्यवसायीलाई उद्योग वाणिज्य सङ्घलाई परिचय पत्र बनाउन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

नाकामा कडाइ नगर्ने हो भने छिमेकी जिल्लामा समुदाय स्तरमा नै फैलिएको कारोना सङ्क्रमणबाट म्याग्दी पनि उच्च जोखिममा पर्न सक्ने प्रजिअ अधिकारीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *