निर्माण सामग्री ल्याउन मतभेद गरिएको व्यवसायीको गुनासो

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

बजार क्षेत्रमा निषेधाज्ञा जारी भए पनि निर्माण सामग्री ओसार पसारमा भने स्थानीय प्रहरी प्रशासनले लचिलो नीति लिएको छ ।

बागलुङ जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिए पछि यस अवधिमा निर्माण सामग्री ल्याउनका लागि बेलुकी ६ बजेदेखि विहान ९ बजेसम्म निर्माण सामग्री ल्याउने समय निर्धारण गरिदिएको छ । तर, मालढुंगा नाकामा प्रहरीले कोहीलाई सहज रुपमा ल्याउन दिने र कोहीलाई अवरोध गर्ने गरेको व्यवसायीले गुनासो गरेका छन् ।

मालढुङ्गा प्रहरीले केही व्यवसायीका गाडीहरु दिउँसोको समयमा पनि छोडि दिने गरेको निर्माण व्यवसायी रुद्र महतको गुनासो छ । ‘प्रहरीले कोहीलाई काखा, कोहीलाई पाखा गरेको छ, दिउँसोको समयमा निर्माण सामग्री ल्याउन रोक्ने र खाद्यान्न सामग्री मात्रै ल्याउन दिने भनेको छ,’ उहाँले भन्नुभयो ‘तर यहाँ त प्रहरीले व्यवसायीसँगको मिलेमतोमा कसैको निर्माण सामग्री दिउँसै पनि ल्याउन दिने, कसैको नदिने गरेर मतभेद गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले भने निर्माण सामग्री ल्याउनका लागि साँझ ६ बजेदेखि विहान ९ बजेसम्म खुल्ला गरेको तर दिउँसोको समयमा रोक लगाएको बताउनुभयो । राष्ट्रिय गौरव र महत्वपूर्ण सरकारी आयोजनाका लागि ल्याइएको सामग्री बाहेक अरु कुनै पनि गाडीलाई त्यसरी नछोडेको उहाँको दाबी छ ।

‘हामीले कुनै पनि गाडीलाई खुल्ला गरेका छैनौ, ठुला आयोजनाको लागि केही सामग्री ल्याएका गाडीहरु छोडेका छौँ,’ उहाँले भन्नुभयो ‘अन्य गाडीलाई साँझ ६ बजेदेखि विहान ९ बजेसम्म समय तोकिएको छ, उहाँहरुले त्यो समयमा जति सामग्री पनि ल्याउन सक्नु हुन्छ ।’ कुनै पनि प्रहरीले व्यवसायीसँग मिलेर गाडी भित्रिन नदिएको भन्दै कसैले त्यस्तो गरेको भए तत्काल अनुसन्धान गरेर कारवाही गर्ने डिएसपी रेग्मीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *