बागलुङका पहिरो पीडितलाई सहयोग गर्न देशभरका सहकारीहरुलाई राष्ट्रिय सहकारी महासंघको आव्हान

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालले बागलुङको ढोरपाटन नगरपालिकामा भएको बाढी पहिरोबाट पीडितहरुका लागि सहयोग गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ढोरपाटनका पहिरो पीडितका लागि राहत तथा उद्धारमा आवश्यक सहयोग गर्न अपिल गरेको भन्दै महासंघले जिल्ला संघको अभियानमा ऐक्यवद्धता जनाउदै आवश्यक सहयोग र सहकार्यका लागि देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको हो ।

जिल्ला सहकारी संघ बागलुङले देशभरका सहकारीहरुलाई ढोरपाटनका पहिरो पीडितको उद्धार तथा राहतका लागि सहयोगका लागि गरेको आव्हानप्रति महासंघको ऐक्यवद्धता छ, महासंघका अध्यक्ष मीनराज कंडेलले भन्नुभयो– सहकारीको समुदायप्रतिको चासो भन्ने सिद्धान्तलाई आत्मसाथ गरेर सबै सहकारीहरु विपत्तीको समयमा एकतावद्ध भएर राहत तथा पुनस्थापनमा जुट्नु पर्छ ।

महासंघले बागलुङको ढोरपाटनका साथै सिन्धुपाल्चोक, कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको धनजनको ठुलो क्षतिप्रति दुख प्रकट गर्दै प्राकृतिक विपद्को समयमा सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा उद्धार, राहत, उपचार र पुनस्थापना लगायतका कार्यमा सहभागी भई सहयोगमा जुट्न आव्हान गरेको छ ।

सहकारीको सिद्धान्त समुदायप्रति चासोलाई ध्यानमा राखेर बाढी पहिरो प्रभावित समुदाय तथा व्यक्तिहरुको राहत तथा उद्धारका लागि विगतमा झै सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आवश्यक सहयोगका लागि आव्हान गर्दछा, महासंघद्वारा जारी सन्देशमा उल्लेख छ ।

भदौ १७ गते राती परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट बागलुङको ढोरपाटन नगरपालिकामा १६ जनाको ज्यान गएको र २२ जना वेपत्ता रहेका छन् । बढी पहिरोले ८० घर पूर्ण रुपमा क्षति पुगको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालय गरी १ सय ७१ भौतिक संरचनामा क्षति पु¥याएको छ ।

पहिरोका कारण ठुलो संख्यामा स्थानीय वासिन्दाहरु घरबार बिहिन भएको अवस्थालाई मध्यनजर गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरु लगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आव्हान गरेको थियो ।

विपत्तीको समयमा सबै मिलेर पीडितहरुको पीडामा मल्हम लगाउने योजनाका साथ जिल्ला सहकारी संघले देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई संघको अभियानमा सहयोग गर्न आव्हान गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

बागलुङवासीलाई परेको विपत्तीमा देशभरका सहकारीहरुबाट ऐक्यवद्धता र सहयोगको अपेक्षा सहित सहयोगका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखामा रहेको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न सकिने संघका कोषाध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *