आफैले गरेको निर्णयका पक्षमा उभिन उपमेयरलाई मेयरको आग्रह

आदर्श अनलाईन, बागलुङ

बागलुङ बजारको फोहोर व्यवस्थापनका विषयमा नगर प्रमुख,उप-प्रमुख बीच जुहारी चलेको छ ।

नगर उपप्रमुख सुरेन्द्र खड्काले आइतवार पत्रकार सम्मेलन नै गरेर नगर प्रमुख सहित कर्मचारीले फोहोर व्यवस्थापनमा कमिसनको खेलमा लागेको गम्भीर आरोप लगाउनुभएको थियो । फोहोर व्यवस्थापनमा पहिले धौलागिरी फोहोर व्यवस्थापन तथा सरसफाई सहकारी संस्था सँगको सम्झौता पुर्नविचार गर्नुपर्ने अडान राखे पनि मौन रहेका तर अहिले निश्चित स्वार्थबाट प्रेरित भएर सम्झौता भंग गरेको बताउनुभएको थियो । यो निर्णय गर्ने बैठकमा यही कारण आफुले नोट अफ डिसेन्ट समेत लेखेको दावी गर्नुभएको थियो ।

त्यसको भोलीपल्टै फेरि नगर प्रमुख जनकराज पौडेललले बिज्ञप्ती प्रकाशित गरेर उक्त आरोपको खण्डन गर्नुभएको छ । मेयर पौडेलले सोमवार साँझ जारी गरेको बिज्ञप्तीमा उपमेयर खड्कालाई आफ्नो पूर्व निर्णयमा अडिक रहन आग्रह गर्नुभएको छ । नगर उपप्रमुख जस्तो जिम्मेवार व्यक्तिले नगरपालिकाको हितमा नबोली नाफामुलक सहकारी संस्थाको पक्षमा लागेको उहाँको भनाई छ ।

नगर प्रमुख पौडेलले नगर उपप्रमुख संयोजकनै रहेको कार्यदलको बैठकले चैत्र १७ गते गरेको निर्णयको आधारमा सम्झौता भंग गरेको भए पनि सम्झौता रद्द गरेको तीन हप्ता पछि एकाएक सहकारीको पक्षमा विज्ञप्ती आउनुले नगर उपप्रमुखको जिम्मेवारी प्रतिनै प्रश्न उठेको विज्ञप्तीमा उल्लेख छ । “आफैले गरेको निर्णय र आफै सहभागी भएको कार्यपालिकाको निर्णयमा अडिक रहन नगर उपप्रमुखलाई आग्रह गर्दछु” विज्ञप्तीमा भनिएको छ ।

नगरपालिकाको फोहोर समयमा नउठाउने लगायतका गुनासो आएको र सम्झौता अनुसार कार्य सम्पादन नगरेकाले सम्झौता भंग गरेको नगर प्रमुख पौडेलको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *