नेकपाले मनायो बागलुङमा बासु-बैरागी स्मृति दिवस

आदर्श अनलाइन, बागलुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी भित्रको विवाद हल भएको बताउनुभएको छ ।

जनयुद्धका शहीद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा नेकपा बागलुङद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताउनुभयो ।

“पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ” नेता पौडेलले भन्नुभयो, “शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।” गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उहाँको भनाइ छ ।

“कसैले हिजाको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो”, उहाँले भन्नुभयो, “जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।” बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।

“उहाँसँगै एउटै समिति र मोर्चामा बसेर मैले पनि काम गर्ने अवसर पाएको थिएँ, विचार, राजनीतिमा पोख्त, शैन्यकौशल भएको र कुशल योजनाकारका रुपमा उहाँ चिनिनुहुन्थ्यो”, नेता पौडेलले भन्नुभयो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा शहादत प्राप्त गर्नेमा वाग्ले सबैभन्दा उपल्लो तहको नेता हुनुहुन्थ्यो ।

पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहनुभएका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ सालमा प्रहरीले हत्या गरेको थियो ।

स्मृति दिवसमा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आत्मसाथ गर्नुपर्ने धारणा राख्नुभयो । “जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन, अहिलेका उपलब्धी ल्याउनमा त्यसको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो, “राजनीतिक ढङ्गले परिवर्तन त ग¥र्यौँ तर शहीदले देखेको समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न हाम्रो व्यवहार, कार्यशैली सही छ त ? समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

कार्यक्रममा सहभागी नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, पार्टी जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य बलावती शर्मा, प्रतिनिधिसभा सदस्य सुर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायतले शहीदको तस्वीरमा माल्यार्पण गरेका थिए ।

कार्यक्रम नेकपा बागलुङका अध्यक्ष सापकोटा र सचिव ज्ञामनाथ गैरे ‘अनिल’को सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *